जसपालाई प्रधानमन्त्री सचिवालयकाे जवाफ: सिसाकाे घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुन्छन्

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ। 

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख थियाे।

त्यसको दुई दिनपछि मंगलबार बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै त्यसलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेको हाे।

‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो,’थापाको प्रेस नोटमा लेखिएको छ।

विज्ञप्तिमा थप लेखिएको छ, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ। त्यसै आधारमा यस स्तरकाे अपसंस्कारकाे प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर हाेला। सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नाे स्वार्थका राेटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्याराे देख्छन् र उज्यालाेकाे भर्त्सनामा जुट्छन्।’

प्रधानमन्त्री ओलीलाई आलाेचना, विराेध र गालीगलाेज गरिएकाे सन्दर्भ कुनै नाैलाे कुरा नभएको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा लेखिएको छ, ‘आफ्नाे निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसाे गर्दै आएकाे तथ्य स्पष्ट नै छ। त्यस्ता तत्वहरू इतिहासकाे गर्तमा सीमित भइसकेका छन्। अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले काेही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ।’

उनले सिसाकाे घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य नै रहेकाे बताएका छन्।

‘जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएकाे छ’, विज्ञप्तिमा भनिएकाे छ।

प्रकाशित मिति: : 2020-08-11 10:33:36

प्रतिकृया दिनुहोस्