दिनभरि

चल्न थाल्याे टिकटक, थपियाे १५ अर्ब विदेशी ऋण

आज देवादिदेव महादेवको पूजा आराधना गरी तीज पर्व मनाइँदैछ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभर पूजा-आरधाना तथा नाचगानका कार्यक्रम भएका छन्।

०००

सरकारले बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेकाे छ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय सार्वजनिक गरेकाे हुन्।

जसमा कृषि सिँचाइका लागि एसियाली विकास बैंकबाट १५ अर्ब ऋण स्वीकार गर्ने, अमेरिकामा आयाेजना हुने संयुक्त राष्ट्रसंघकाे ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्ने, पराओलम्पिकमा सहभागी भई नेपाललाई एतिहासिक पदक दिलाउने पलेशा गाेवर्द्धनलाई ६५ लाख पुरस्कार प्रदान गर्ने लगायतका निर्णयहरु रहेका छन्।

०००

सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

सरकारले टिकटकका प्रतिनिधिहरुलाई विभिन्न शर्त राखेको थियो। सरकारले राखेको उक्त शर्तहरु परिपालना गर्न टिकटक सहमत भएसँगै गत भदौ ६ गते मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

०००

नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको खेलमा हार ब्यहाेरेकाे छ। श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई ५ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १६० रनको लक्ष्य पछाएको श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

यसअघि नेपालले पहिला ब्याटिङ गर्दै ४० ओभरमा १५९ रन बनाएर अलआउट भएको थियो।

०००

बागलुङमा बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ।

बागलुङ नगरपालिका- ४, बान्द्रे खोलामा गएराति आएको बाढीले कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरकाे स्कुटर बगाएको थियाे।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ– ४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा, सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-09-06 19:53:00

प्रतिकृया दिनुहोस्