सिरहा नगरपालिकाकाे कोरोना नियन्त्रण खर्च: १११ वटा तकियाकाे खाेलकाे मूल्य ३ लाख १९ हजार मात्रै !

फाइल तस्वीर

सिरहाका स्थानीयतहहरुले कोरोना भाइरस नियन्त्रणमा भएका खर्चको विवरण सार्वजनिक गर्न गरेका छन्।

काेराेना नियन्त्रणको नाममा व्यापक आर्थिक अनियमितता भएको भन्दै आराेप लागेपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले ३ दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएका थिए। 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा १७ स्थानीय तहमध्ये १२ तहले खर्च विवरण सार्वजनिक गरेका हुन्।

खर्च विवरण सार्वजनिक गर्नेमा सिरहा नगरपालिकाले सबैभन्दा बढी ५ करोड ९० लाख ८६ हजार ४ सय ३० र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेको छ। 

जसमा सिरहा नगरपालिकाले १ सय ११ वटा तकियाकाे खाेलमा ३ लाख १९ हजार २ सय ७५ रुपैयाँ खर्च गरेकाे छ। यस्तै तकियामा २ लाख ८ हजार ९ सय ५०, तन्नामा ४५ लाख ३ हजार ७ सय ७५, झुलमा ३ लाख ३० हजार, फलामे खाटमा ११ लाख ९४ हजार ६ सय ८५ र किटनाशक औषधीमा १ लाख ४९ हजार ७ सय २५ रुपैयाँ खर्च गरेकाे छ।

यता मास्कमा २० लाख, ग्लाेव्समा ६ लाख ८८ हजार, सेनिटाइजरमा  १ लाख ४० हजार, साबुनमा १ लाख ७२ हजार,  रेनकाेटमा १ लाख ९३ हजार र डस्नामा ४ लाख ५५ हजार खर्च गरेकाे छ।
 

अरु स्थानिय तहकाे खर्च विवरण

गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैयाँ खर्च गरेकाे छ। धनगढीमाइ नगरपलिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैया र बिष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७ सय १० कोभिड नियन्त्रणमा खर्च गरेका छन्। 

त्यसैगरी, लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ रुपैयाँ, बरियारपट्टि गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैयाँ, नरहा गाउँपालीकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैयाँ, लक्ष्मीपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैयाँ, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ खर्च गरेका छन् भने औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० कोभिड नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको छ।

काेराेना रोकथाम तथा नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, स्वास्थ्यकर्मी भत्ता, सुरक्षाकर्मी र कर्मचारी भत्तामा खर्च भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ।

सोही क्रममा स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्वजनिक गरेका छ्न्।

खर्च विवरण सार्वजनिक नगर्नेमा कल्याणपुर नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टि गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिका रहेका छन्।

प्रकाशित मिति: : 2020-08-08 21:46:45

प्रतिकृया दिनुहोस्