अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले जानकारी दिए।
यसअघि अख्तियारमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकाङ्श अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी रहेका छन् ।
यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने संक्रमण नदेखिएको पौडेलले बताए। प्रधानमन्त्री निवास वालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो ।
अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा संक्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३०० जनाको स्वाब सङ्कलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिूट पौडेलले जानकारी दिए।
यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो ।