अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ।
साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए।
‘पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ’ उनले भने।
कर्णाली राजमार्गको कालीकोट सडकखण्डका दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालिगाड, भैँसीगौंडा, टिमुरेभिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायत करीब ५० स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए।
तीनै तहका सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटकपटक दुःख खेप्नुपरेको खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यको भनाइ छ।