जिल्ला प्रशासन कार्यालय चितवनले विद्यालय सञ्चालन, कुनै पनि भेला र बैठक नगर्न आग्रह गरेका छन्।
कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण समूहमा गरिने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले निर्देशन गरेको हो।
जिल्लामा राजनीतिक दलहरुले कार्यकर्ता भेला, केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य संघसंस्थाले बैठक तथा भेला गरेको सूचना आएपछि प्रशासन कार्यालयले यस्ता कार्यक्रम नगर्न भनेको हो।
केही दिन अघि मात्रै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माडी र भरतपुरमा पार्टी अध्यक्ष प्रचण्डकै उपस्थितिमा कार्यकर्ता भेला र नेपाली कांग्रेसले वीपी स्मृत दिवसका अवसरमा भिडभाडका साथ कार्यक्रम गरेका थिए।
प्रशासनले जिल्ला भित्रका केही शैक्षिक संस्थाहरुले शैक्षिक गतिविधि सञ्चालन गर्न थालेको देखिन आएकोले शैक्षिक गतिविधि एवम् पठनपाठन तत्काल अघि नबढाउन विद्यालयलाई निर्देशन दिएको छ।
निर्देशनको अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।