अबैध रुपमा भित्र्याएको भन्दै प्रहरीले काठमाडौंबाट बरामद गरेको १५ केजी नक्कली सुन र पेस्तोलको घटना प्रकरणमा तीन जना पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन्। उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका हुन्।
उनीहरुले बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडीमा सामान ल्याएका थिए। पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै कार भाडामा लिएर काठमाडौंबाट भागेको प्रहरी उच्च स्राेतले बताएकाे छ।
मंगलवार बिहान करिव ९ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीमा स्कर्पियो गाडीबाट १५ केजी सुन बरामद गरेको जनाएको थियो। जफत भएका मध्ये एक टुक्रा सुन मात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि भएको थियाे।
प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेकाे बताइएकाे छ। झोलामा हेर्दा सुनजस्तै धातु फेला परेको थियो।
महानगरीय प्रहरी परिसरले सुन नक्कली रहेको परीक्षणमा देखिएको जनाएको छ। समितिले गाडी किन समात्न सकिएन? र उनीहरुको को थिए भन्ने विषयमा अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाको नेतृत्वमा छानविन समिति गठन भएको छ।
समितिमा एसएसपी किरण बज्रचार्य, एसपी सोमेन्द्र राठौर, डिएसपी दुर्गा दाहाल र डिएसपी राजकुमार केसी रहेका छन्।