अमेरिकी चुनाव २०२४

अमेरिकामा आजदेखि प्राइमरी सुरू, आइवामा रिपब्लिकन ककस

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा यस वर्ष नोभेम्बर ५ मा हुने आमचुनावको प्राइमरी चरण आजदेखि औपचारिक रूपमा सुरू हुँदैछ। मार्च १५ मा आइवा राज्यको रिपब्लिकन ककसबाट सुरू हुने प्राइमरी ककसको सिलसिला जुन ४ मा न्युजर्सी, मोन्टाना, न्यु मेक्सिको र साउथ डकोटामा पुगेर टुंगिन्छ। यही दिन अमेरिकाका दुई ठूला दल डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीले औपचारिक रूपमा नोभेम्बर ५ का लागि राष्ट्रपतिलगायतक अन्य पदका उम्मेद्वार पाउँछन् । यस बीचमा अमेरिकाका सबै राज्यमा प्राइमरी भैसकेको हुन्छ।

आज धेरै अमेरिकी नागरिक र मिडियाको ध्यान आइवा ककसतिर तानिएको छ ।  राजधानी डिमोइन्स फरहेनहाइटमा -१२ डिग्री चिसोले कठाङ्ग्रिए पनि यहाँको राजनीति तापमान भने उम्लिरहेको छ। 

आइवा रिपब्लिकन ककसको प्राइमरीमा ६ उम्मेद्वारको नाम छ- डोनल्ड ट्म, निकी हेली, रन डीसान्तिस, विवेक रामास्वामी, रायन बिन्क्ली र आशा हचिन्सन। सबै रिपब्लिकन उम्मेद्वारहरू यतिबेलाको आइवाको चिसोको प्रवाह नगरी चुनावी क्याम्पेनलाई अगाडि बढाइरहेका छन्। मतदान सुरू हुन अघिल्लो दिन उम्मेद्वारहरू एकअर्कालाई आक्रमणको निशाना बनाइरहेका छन्। त्यसमा पनि ट्रम्प आफ्नो स्वभावअनुसार नै सबैमाथि जाइलागेका छन्। निकी हेली र रन डीसान्तिसमाथि आक्रमण गरिरहेका ट्रम्पले अन्तिम समयमा आएर उनलाई नै सबैभन्दा उत्कृष्ट राष्ट्रपति भन्ने विवेक रामास्वामीमाथि जाइलागेका छन्। भारतीय मूलका रामास्वामीलाई उनले मागा नभएर एक ठग भएको बताए।

आइवामा सुरूदेखि नै ट्रम्पको ठूलो अग्रता रहेको छ। दोस्रो स्थानका लागि मात्र प्रतिस्पर्धा हुने हो। सुरूवाति चरणमा फ्लोरिडाका गभर्नर रन डी सान्तोस दोस्रो स्थानमा रहेका थिए । तर, अहिले त्यो स्थानमा साउथ क्यारोलाइनाकी पूर्वगभर्नर निकी हेली उक्लिएर डिसान्तोसलाई पछाडि पारेकी छिन्। बाँकि उम्मेद्वार भने प्रतिस्पर्धामै छैनन् भने पनि हुन्छ। भारतीय मूलका उद्यमी-व्यापारी रामास्वामी धेरैपछाडि चौथो स्थानमा छन्।

आइवाको आजको प्रश्न कस्ले जित्छ भन्ने नभएर ट्रम्पले कति धेरै प्रतिशत मत प्राप्त गरेर जित्छन् र उनलाई पछ्याउँदै दोस्रो को हुन्छन् र कति प्रतिशत मत ल्याउँछन् भन्ने मात्र हो । प्रतिशतका आधारमा रिपब्लिकन ककसको कलेज इलेक्ट्रल मत बाँडिन्छ। 

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमचुनावको प्राइमरी चरण आजदेखि औपचारिक रूपमा सुरू हुँदैछ। यसै क्रममा आज आइवामा रिपब्लिकन ककसको मतदान हुदैछ। ६ उम्मेद्वारको दौडमा डोनल्ड ट्रम्प सबैभन्दा अगाडि छन्। उनलाई निकी हेलीले टाढाबाट पछ्याइरहेकी छिन्।

यो चुनावको परिणामले यसपछि अर्को साता जनवरी २३ मा हुने न्यु ह्याम्पसायर प्राइमरी प्रभावित हुन्छ। राजनीतिक पण्डितहरू भन्छन्, 'आइवा ककसमा निकी हेली राम्रै प्रतिशत मतका साथ दोस्रो स्थानमा आइन् भने उनले ट्रम्पलाई न्यु ह्याम्पसायरमा उछिन्न सक्छिन्। त्यसले ट्रम्पविरोधी मतदातामा निकीले जित्न सक्छिन् भन्ने मनोविज्ञान बन्न सक्छ।' 

न्यु ह्याम्पसायरमा भने निकीले गतिलो छलाङ मारेकी छिन्। अहिले त्यहाँ उनी ट्रम्पभन्दा झिनो प्रतिशत मतले मात्र पछि छिन्। अन्तिम समयमा उम्मेद्वारी त्यागेका क्रिस क्रिस्टीका समर्थकहरूले उनलाई समर्थन गर्ने सम्भावना बढेको छ र त्यही मत त्यहाँ निर्णायक हुन सक्ने राजनीतिक पण्डितहरूको आँकलन छ।

डेमोक्रेटिक पार्टीको प्राइमरी भने आइवाबाटै मार्च ५मा मात्र सुरू हुने छ। बर्तमान राष्ट्रपति बाइडनलाई प्राइमरीमा केही डेमोक्रेट्सले चुनौति दिए पनि त्यसले उनको जीतलाई तलमाथि पर्ने देखिदैन। बाइडेनले दोस्रो कार्यकालका लागि सजिलै डेमोक्रेटिक उम्मेद्वार हुन सक्छन्।   

प्रकाशित मिति: : 2024-01-15 21:45:00

प्रतिकृया दिनुहोस्