भारतमा कोरोना संक्रमित धेरै भएका क्षेत्रमा भदौ १५ सम्म लकडाउन लम्बियाे

भारत सरकारले कोरोना संक्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ।

भारतमा दैनिकजसो ५० हजारको संख्यामा नयाँ काेराेना संक्रमित भेटिन थालेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ।

गएको २४ घण्टामा मात्रै भारतमा ५२ हजार २ सय ४९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ। यस्तै काेराेना संक्रमणकै कारण ३५ हजारको ज्यान गएको छ।

यसैलाई मध्यनजर गर्दै भारत सरकारले चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको थियाे। 

अब सरकारले संक्रमित धेरै भएका क्षेत्रमा भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर संक्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको छ।

के–के खुल्छ?

भारतमा रात्रीकालीन कर्फ्यू हटाउने निर्णय भएको छ। यस्तै जीम र योग संस्था खोल्ने छ। 

तर अझै पनि ठूलो संख्यामा जमघट हुने शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत क्षेत्र अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन्। 

यता राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगष्ट ३१ सम्म गर्न पाइने छैन। 

गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2020-07-30 07:24:17

प्रतिकृया दिनुहोस्