सुनीलबहादुर थापासहित राप्रपा परित्याग गरेका ५१ भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश

थापालाई सहमहामन्त्री तथा थापा समूहका ५ जना नेतालाई केन्द्रीय सदस्य तथा दुई जनालाई आमन्त्रित केन्द्रीय सदस्य दिने सहमति

राप्रपा नेता सुनिलबहादुर थापा आज दिउँसो नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। मंगलवार थापासहित ५१ जनाभन्दा बढी नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरु सहभागी भएका छन् । झापा जान आँटेका सिटौला पार्टीका प्रवेश कार्यक्रमको लागि भनि रोकिएका थिए।

स्रोतका अनुसार थापालाई सहमहामन्त्री तथा थापा समूहका ५ जना नेतालाई केन्द्रीय सदस्य तथा दुई जनालाई आमन्त्रित केन्द्रीय सदस्य दिने सहमति भएको छ। ‘सम्भवत आज पार्टी प्रवेश कार्यक्रम मात्र हुने छ। पदाधिकारी तथा केन्द्रीय सदस्यका घोषणा अर्को दिन हुन्छ’ स्रोतले भन्यो।

पार्टी विष्णुविक्रम थापा, वृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, आशाराम चौधरीले केन्द्रीय सदस्य पाउने सम्भावना रहेको स्रोतले बतायो।

साउन १० गते थापासहितको ३१ जनाको समूहले राप्रपाका अध्यक्षत्रयलाई चिठी लेखी राप्रपाबाट अलग भएको घोषणा गरेका थिए।

राप्रपाबाट राजीनामा दिएका थापा र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिवीच पटक पटक संवाद र छलफल भएको थियो।

थापालाई नेपाली कांग्रेसले सहमहामन्त्री पद दिने सहमति भए पछि मात्र उनको समूहले राप्रपाबाट राजिनामा गरेको हो।

राप्रपाका अध्यक्षत्रयलाई लेखिएको चिठीमा पार्टीको नीति ढुलमुले भएको र पार्टी एकीकण पछि पनि पार्टीप्रति जनतामा उत्साह नआएको आरोप लगाइएको छ। ‘हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ तर नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निस्कर्षमा पुगेका छौँ’चिठीमा भनिएको छ, ‘पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधन पछि पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको बताउँदै पार्टी दिशाहिन बनेको छ । स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको चिठीमा जनाइएको छ। ’

अध्यक्षत्रयलाई चिठी लेखेर पार्टीबाट राजिनामा गर्ने नेताहरुमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी,दिलिप राइ, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ,श्रीमती राज्य लक्ष्मी श्रेष्ठ,चतुमान विश्वकर्मा, वीरेन्द्र लाल कर्ण,नारायण राउत,इन्द्र तामाङ छन् । यसैगरी राजकुमार भट्टराइ, डम्मरबहादुर राइ,माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्र प्रसाद यादव, भिखारी लाल यादवले पनि पार्टीबाट राजिनामा गरेको जनाएका छन्।

धनकुटा राप्रपा अध्यक्ष लक्ष्मी सुब्बासहित धनकुटा राप्रपाका सबै सदस्यहरुले पार्टीबाट राजीनामा गरेको चिठीमा जनाइएको छ।

No description available.

प्रकाशित मिति: : 2020-07-28 16:44:00

प्रतिकृया दिनुहोस्