विवादित फैसलामाथि संञ्चारमाध्यमले प्रश्न उठाएकाेमा सर्वोच्चकाे असन्तुष्टि

पछिल्लो समय भएका विवादित फैसलामाथि संञ्चारमाध्यमले प्रश्न उठाएकाेेमा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ। 

न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटी सच्च्याउने कार्य निर्धारित विधि र प्रक्रिया अनुरुप अदालतबाटै हुने संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले सोमबार जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सम्वद्ध सबैमा अनुरोध छ।’

सर्वोच्च अदालतले अदालतमा विचाराधीन विषय वा अदालतबाट भएका फैलसा र निर्णयका सम्बन्धमा टिकाटिप्पणी गर्दा वा समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा आँच आउन सक्ने तर्फ ध्यान दिन आग्रह गरेको छ। 

‘अदालत आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त रहने संस्था हाे। अदालतका कामकारबाही बारे भ्रम सिर्जना हुने गरी टिकाटिप्पणी र समाचार प्रवाह गर्दा यसमा गरिमामा आँच आउने तर्फ ध्यान जान जरुरी हुन्छ,’ विज्ञप्तिमा भनिएकाे छ। 

पछिल्लो समय पत्नी हत्याका दोषी पूर्व प्रहरी अधिकृत रञ्जन कोइरालाको कैद घटाउने र 'हिट एन्ड रन' को केसमा पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्ने सर्वोच्चका आदेशहरु विवादमा आएका छन्। 

यी आदेशबारे मिडिया र सोसल मिडियामा व्यापक गुनासा र टिप्पणीहरु आएका छन्। प्रधानन्यायाधीशसमेत संलग्न इजलासले गरेको कोइरालाको निर्णयलाई सर्वोच्चले नै पुनरावलोकनमा लगेको छ।

विज्ञप्तिमा निश्चित सीमा र मापदण्डमा रहेक गरिने स्वस्थ आलोचना र टिप्पणीप्रति अदालत सकारात्मक रहेको भन्दै अदालतका फैसला र आदेशउपर स्वच्छ टिप्पणी वा आलोचना र प्राज्ञिक छलफल वा बहस हुन सक्छ भनिएको छ।

प्रकाशित मिति: : 2020-07-27 22:31:51

प्रतिकृया दिनुहोस्