प्रचण्डले सार्वजनिक रूपमै भने- ओलीकै पहलमा नेकपा एमाले दर्ता भयो'

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक रूपमै निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता गर्न पहल गरेको आरोप लगाएका छन्।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राजधानी काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई स्थायी कमिटीको बैठक चल्दाचल्दै एमाले दर्ता गरेर पार्टी फुटाउन खोजेको आरोप लगाएका हुन्।

'पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भयो। हाम्रो पार्टीका अर्का अध्यक्षकै पहलमा भएको छ। यो सबैले देखेकै कुरा हो', प्रचण्डले भने।

उनले यसबिचमा देशभरि प्रधानमन्त्रीको पक्षमा भएका नारा जुलुसमाथिसमेत असन्तुष्टि जनाए।

अहिले देशभरि केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोशिश भएको भन्दै उनले  पार्टीमा छलफल गरिरहेका बेला  मुर्दावाद र जिन्दावादको जुलुस हुनु भनेको एकताप्रति प्रतिबद्ध हुनु हो कि फूटतिर जानु हो भन्दै प्रश्न गरे।

प्रचण्डले कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिएको सन्दर्भमा कसैलाई देवत्वकरण कसैलाई दलालीकरण गरिएकोमा पनि असन्तुष्टि जनाएका छन्।

केन्द्रीय समितिले नक्सा जारी गर्न निर्णय गरेरै सुझाव दिएको र कार्यान्वयन नभएपछि सचिवालयबाट पनि सरकारको नीति तथा कार्यक्रममै समेट्न निर्देशन दिएपछि प्रधानमन्त्री ओली बल्ल नक्सा जारी गर्न सहमत भएको उल्लेख गर्दै प्रचण्डले नक्सा जारी गर्न निर्देशन दिने पार्टीका नेताहरूलाई दलालीकरण र नक्सा जारी गर्न महिनौं ढिला गर्ने प्रधानमन्त्रीलाई देवत्वकरण गरिएकोमा असन्तुष्टि जनाए ।

प्रकाशित मिति: : 2020-07-24 15:14:25

प्रतिकृया दिनुहोस्