भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घुस सहित पक्राउ

जिल्ला सदरमुकाम नेपालगञ्जस्थित भेरी अस्पतालका एक कर्मचारी घुस सहित पक्राउ परेका छन्।

अस्पतालका कम्प्युटर अपरेटर अरूणराज खनाल नगद १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ सहित पक्राउ परेका हुन्। उनले कमिशन मागेको विशेष सुराकीको आधारमा अस्पतालमा छापा मार्दा उनलाई नगर सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार  अपरेटर खनालले अस्पताल भित्रैबाट कमिशन बापतको रकम लिइरहेको अवस्थामा  पक्राउ  गरिएको हो। यस्तै उनले कम्प्युटर अपरेटर खनाल विगत लामो समयदेखि स्टोर सम्हाल्दै आएका समेत बताए। 

आयोगमा केही समयअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै भेरी अस्पतालका विरुद्ध उजुरी दर्ता भएको थियो । 

कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको थियो ।

असार पहिलो साता बायो मेडिकल ईकुपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पताल विरूद्ध अख्तियारमा  उजुरी दर्ता भएका समाचार बाहिरिएका थिए। भेरी अस्पतालले कोरोनाको परिक्षण समेत हुँदै आएको छ।

प्रकाशित मिति: : 2020-07-23 21:52:50

प्रतिकृया दिनुहोस्