कोरोना भाइरसको रोकथामका लागि गरेको जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा भोलिदेखि सञ्चालन गरिने भएको छ।
सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए।
पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएको उनले बताए। 'सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको छैन्' उनले भने।
उक्त विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने उनले बताए। आधारभूत सुरक्षा सतकर्ता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ। पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन्।