नक्कली भुटानी शरणार्थी प्रकरण

१६ जना पक्राउ पर्दा २ जना भागे, थप ‘हाई प्रोफाइल’सम्म पुग्न सकेन प्रहरी

तीन वटा अभियोग सिफारिस गर्ने प्रहरीको तयारी

BreaknLinks
BreaknLinks

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री र एक पूर्व गृहसचिवसहित १६ जना आरोपित पक्राउ परिसकेका छन्। भने, दुई जना फरार छन्।

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न भन्दै गृह मन्त्रालयले २०७६ जेठ ३० मा पूर्व गृहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो। सो कार्यदलले ०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ बुझाएको थियो।

उक्त प्रतिवेदन अझै सार्वजनिक छैन। तर, त्यही प्रतिवेदन हात पारेर गिरोहले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ।

गिरोहका नाइके सानु भण्डारी, केशव दुलाल र टंक गुरुङले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ८ सय ७५ जनाबाट १० देखि ५० लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। गिरोहले युवाबाट यसरी पैसा उठाएको लामो समयसम्म अमेरिका नपठाएपछि प्रहरीमा  पीडितहरुले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पक्राउ परेका भण्डारी, दुलाल र गुरुङलाई पक्राउ गरेपछि लहरो तन्दा पहरो धर्किएको जस्तै भएको छ।

यस प्रकरणमा हालसम्म एमाले सचिव (निलम्बित) एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, नरेन्द्र केसी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी गरी १६ जना आरोपित पक्राउ परेका छन्।

भने, बादलका छोरा प्रतीक थापा र इन्द्रजितका छोरा निरज राई फरार छन्। उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

प्रहरीले ठगीको उजुरीका आधारमा गत चैत १२ गते गिरोहका नाइके दुलाल, भण्डारी, गुरुङलाई पक्राउ गरेको थियो। प्रहरीले त्यसको करिब दुई महिनामा १६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये टोपबहादुर रायमाझी पक्राउ पर्नेमध्ये अहिलेसम्मकै उच्च पदस्थ व्यक्ति हुन्। चार पटक सांसद बनेका उनी उपप्रधानसहित पाँच पटक मन्त्री भइसकेको छन्। भने, एमाले र माओवादी जस्ता ठुला पार्टीको सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। उनलाई प्रहरीले वैशाख ३१ गते बूढानीलकण्ठबाट पक्राउ गरेको हो। उनी पक्राउ पुर्जी जारी भएको ११ दिनसम्म प्रहरीको आँखा छलेर भागेका थिए। टोपबहादुर र इन्द्रजित यो प्रकरणका मुख्य योजनाकार रहेको प्रहरीको ठहर छ।

त्यस्तै पूर्व गृहमन्त्री खाँण भाग्न खोजिरहेको अवस्थामा मैजुवहालस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्। भने, टेकनाराण पाण्डे र शेर्पाले पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा आत्मसमर्पण गरको थिए।

त्यसैगरी शमशेर मियाँ त झन बिहीबार सिंहदरबारबाट पक्राउ परेका हुन्। गिरोहले पैसा ओसारपोसारको लागि उनको गाडी प्रयोग गरेको प्रहरीको भनाइ छ।

यो प्रकरणमा रामबहादुर थापा ‘बादल’, काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राण, बालकृष्ण खाँण पत्नी मञ्जु खाँण, अख्तियार प्रमुख प्रेमकुमार राई अनुसन्धानको घेरामा रहे पनि प्रहरीले उनीहरुमाथि अनुसन्धान नै नगरी आइतबार सरकारी वकिलको कार्यालयलाई अनुसन्धानको सुझवा तथा प्रतिवेदन बुझाउँदैछ। सरकारी वकिलको कार्यालयले प्रहरीलाई बुधबार नै प्रतिवेदन बुझाउन भने पनि प्रहरी समय अभाव भन्दै थप आइतबार मात्रै बुझाउने बताएको छ।

त्यसो त प्रहरीले बुधबार यता मात्रै दुई जना आरोपितलाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार मियाँ र रिजाललाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने क्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ। तर, प्रहरीले ६० दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था अनुरुप प्रतिवेदन बुझाउन लागको छ।

पक्राउ परेकाहरुविरुद्ध तीन वटा अभियोग सिफारिस गर्ने प्रहरीको तयारी छ। संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधको कसुर प्रस्ताव गर्ने तयारी छ।

प्रकाशित मिति: : 2023-05-19 18:36:00

प्रतिकृया दिनुहोस्