घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्न सांसदको माग

प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन् ।

स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्गानिक जडिबुटी युक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् । विकसित मुलुकहरुले आफ्नो देशमा उत्पादित रक्सिलाई ब्राण्ड बनाई प्रवद्र्धन गर्ने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको बताइन् । उनले प्रदेश एक सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफुले गैह्रसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताइन् ।

नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने राईले बताइन् । अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपाल मै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएको भन्दै आवश्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताइन् । घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाई करोडौं आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्याण्ड नभई ब्राण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताइन् ।

प्रकाशित मिति: : 2020-07-21 22:53:05

प्रतिकृया दिनुहोस्