पोर्चुगलका लागि गैरआवासीय राजदूत दीपक अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

पोर्चुगलका लागि गैरआवासीय राजदूत दीपक अधिकारीले गणतन्त्र पोर्चुगलका राष्ट्रपति मारसेलो रेवेलु द सोजा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। नेपाली दूतावास पेरिसका अनुसारका राजदूत अधिकारीले सोमबार लिस्वनस्थित बेलेम प्यालेसमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

सो अवसरमा राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिलाई उनको व्यक्तिगत सुस्वास्थ्यका साथै पोर्चुगलका जनताको प्रगति र समृद्धिका लागि कामना गर्नुभएको सन्देश सुनाएका थिए। पोर्चुगलका राष्ट्रपति रवेलु द सोजाले पनि राष्ट्रपति भण्डारीको सुस्वास्थ र प्रगतिको कामना गर्दै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिका लागि आफ्नो शुभकामना रहेको नेपाली दूतावास पेरिसले जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण ओहोदाको प्रमाणपत्र पेश गर्ने समारोहमा पनि फेस मास्क लगाउनेलगायत सम्पूर्ण स्वास्थ्यसम्बन्धी नियमको पालना गरिएको नेपाली दूतावासले जनाएको छ । राजदूत अधिकारी फ्रान्सका लागि आवासीय राजदूत हुन्।

प्रकाशित मिति: : 2020-07-21 22:23:02

प्रतिकृया दिनुहोस्