१३ औँ सागमा स्वर्ण जितेका खेलाडीलाई कांग्रेसले सम्मान गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियाेगितमा स्वर्ण जितेका खेलाडी सम्मान गर्ने भएकाे छ।

केन्द्रीय सदस्यसमेत रहेका मोहन बस्नेतको संयोजकत्वको खेलकुद विभागले यथाशीघ्र १३ औं सागका स्वर्ण विजेताहरुलाई सम्मान गर्ने निर्णय गरेको हो। 

यद्यपि रजत र कास्य पदक जितेका खेलाडीहरुलाई के गर्ने भन्नेमा भने कमिटी अझै निर्णय गरेकाे छैन्।

'अहिले हामीले सम्पूर्ण निर्णय गरेकाे छैनाैं। अहिले स्वर्ण जित्नेलाई मात्रै दिने कुरा छ।  रजत, कास्य जित्ने खेलाडी तथा प्रशिक्षक र ब्यवस्थापकबारे पछि निर्णय गर्दै जाने छाैं,' कमिटीका संयोजक बस्नेतले भने। 

टिम गेम र व्यक्तिगत खेलका खेलाडीबारे भने कमिटी अझै अस्पस्ट छ। एक स्वर्ण जितेका खेलाडीलाई १० हजार, दुई स्वर्ण जित्नेलाई १५ हजार, तीनवटा स्वर्ण जित्नेलाई २० हजार चार वटा स्वर्ण जित्नेलाई २५ हजार दिने निर्णय गरेको उनले बताए। 

चार स्वर्ण जितेकी गौरिका सिंहले २५ हजार रुपैयाँ पाउने भएकी छन्।

त्यस्तै कमिटीले टोकियो ओलम्पिक २०२१ का लागि नेपालको तर्फबाट सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरुको कोरोना बीमा गर्नेसमेत निर्णय गरेको छ। 

यता ओलम्पिकको तयारीमा जुटेका खेलाडीका लागि सरकारसँग सुरक्षित अभ्यासको वातावरण मिलाउन माग गर्नेसमेत भएको छ।

पारदर्शिताको माग

कांग्रेस केन्द्रीय खेलकुद विभागले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औँ सागमा भएको खर्चको पारदर्शी हिसाब देखाउन सरकारसँग माग गरेको छ। 

कमिटीका संयोजक बस्नेतले १३ औँ सागमा भारतीय टीभी प्रसारकसँग लिएको ८ करोड रुपैँयाको अहिलेसम्म हिसाब नदेखिएकाले त्यसको हिसाब उपलब्ध गराउन समेत माग गरे।
 

प्रकाशित मिति: : 2020-07-21 17:22:04

प्रतिकृया दिनुहोस्