नारायणी र कोशीको बहाव खतरा तहमाथि

निरन्तरको वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ। 

ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ। अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा  सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ। ठाउँठाउँमा डुबान शुरू भइसकेको छ। बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो। 

आज बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ। यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ। नदीको बहाव अझै बढ्दो क्रममा रहेको छ। नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोखरेलले जानकारी दिए।

मकवानपुरको मापन केन्द्रअनुसार पूर्वी राप्ती (मकवानपुर र चितवन हुँदै बग्ने) नदीसमेत बढिरहेकाले सतर्कता तह नजिक पुगेको छ। आज उक्त नदी खतरातहसम्म पुग्ने अनुमान गरिएको छ । यसले प्रत्यक्षरूपमा चितवनको सौराहा र आसपास क्षेत्र डुबानमा पार्न सक्ने छ। 

पूर्वी राप्ती ३ दशमलव ३० मिटर सतर्कता तह पार गरी ३ दशमलव ३६ मिटर पुगेको छ। यो नदीको बहाव ३ दशमलव ७० मिटर खतराको तह हो। यस्तै चितवनको माडीस्थित रिऊ नदी पनि बढ्ने क्रममा रहेकाले आज खतराको आसापास पुग्नसक्ने अनुमान गरिएको छ।  

प्रदेश १, २ र ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बग्ने प्राय नदीमा बहाव बढ्ने र सतर्कता तहसम्म पुग्ने तथा केही नदी खतरा तहसम्म पुग्ने भएकोलेले सचेत गराइएको छ। रासस

प्रकाशित मिति: : 2020-07-21 12:10:03

प्रतिकृया दिनुहोस्