स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ।
मन्त्रालयको उच्चस्तरीय समितिकाे आज बसेको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार विदेशबाट आउने पाँच दिन होल्डिङ सेन्टरबाट बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरिनेछ। अहिले २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गरिएको छ। पिसिआर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइनेभएको छ।
सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गरिने
प्रवक्ता गौतमले सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गर्ने बताएका छन्। उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ।
यता बैठकले संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।
मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत उनले जानकारी दिए।
नेपालमा आज (आइतवार) थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ।
यता आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए।
यस्तै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ। जसमध्ये प्रदेश नम्बर १ मा ७९ जना प्रदेश २ मा १ हजार ८ सय ८६ जना, बाग्मती प्रदेशमा ४१० जना, गण्डकी प्रदेशमा ४२८ जना प्रदेश ५ मा ४४७ जना कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेका छन्।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ।