तीन दिनदेखि पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा खुलाइएको छ।
पाल्पाको तानसेन नगरपालिका, डुम्रे र गौडेखोला बीचमा शुक्रबार बिहानदेखि सडकमा पहिरो खसेकामा दुबैतर्फ पहिरो पन्छाएर सडक आइतबार अपरान्ह ५ बजेबाट सञ्चालनमा आएको हो।
माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि एकतर्फी सवारी साधन चलाइएको प्रभास प्रहरी चौकी प्रमुख एक्काबहादुर नेपालीले बताए।
सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, बागलुङ, पर्वत लगायतका जिल्लातर्फ जान हिँडेका र बुटवलतर्फ आउँदै गरेका सयौं सवारी साधन र यात्रु सडकमै अलपत्र परेका थिए।
शनिबारदेखि नै दुईवटा एक्साभेटर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए।