पहिराेले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

गए राति खसेको पहिराेकाे कारण गोरखा–आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। 

गोरखा नगरपालिका १२ स्थित अबुवा नजिकै  इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो खसेर सडक अवरुद्ध भएको ‍हाे। 

'सडकदेखि करीब ७०/८० मिटर माथिदेखि पहिरो खसेको छ', जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले भने, 'पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ।' 

अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको छ। 

'अहिले छिटो पहिरो हटाउन दुवैतर्फबाट सफा गर्ने काम भइरहेको छ', प्रमुख ढकालले भने।

उनका अनुसार आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ।

ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ। 

प्रकाशित मिति: : 2020-07-19 12:08:06

प्रतिकृया दिनुहोस्