कोरोना संक्रमितको सूचिमा नेपाल ६२ स्थानमा, दक्षिण एसियामा चौथो

विश्वमा महामारीको रूप लिएको कोरोना प्रभावित देशको सूचिमा नेपाल ६२ औं नम्बरमा पुगेको छ। विश्वमा हालसम्म २ सय १३ देश कोरोनाबाट प्रभावित छन्। जसमा शक्ति राष्ट्र अमेरिका सबैभन्दा बढी प्रभावित छ। 

अमेरिका संक्रमित र मान्छे मर्ने सम्बन्धमा दुबैमा पहिलो नम्बरमा छ। अमेरिकामा आइतबारसम्म १ लाख ४२ हजार ८ सय ७० जनाको निधन भइसकेको छ। यहाँ संक्रमितको संख्या ३८  लाख ३३ हजार १ सय ९२ पुगेको छ। 

नेपालमा कोरोनाका कारण १७ हजार ५ सय २ जना संक्रमित भइसकेका छन्, जसमा ४० जनाको निधन भएको छ। कोरोनाका कारण निधन भएको देशको सूचिमा नेपाल लेबननसँगै १ सय २० औं नम्बरमा आउँछ। तर, लेबननमा २७ सय ७५ संक्रमित छन्। 

नेपालमा संक्रमितसँगै स्वास्थ्य लाभ गरेर फर्किनेको संख्या राम्रै छ। कूल ११ हजार ६ सय ३७ जना स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् भने सक्रिय मुद्धा ५ हजार ८ सय २६ देखिएको छ। नेपालमा हरेक १० लाखमध्ये ६ सयमा कोरोना संक्रमण भेटिएको छ। 

दक्षिण एसियामा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल चौथो नम्बरमा सबैभन्दा प्रभावित देश हो। भारत विश्वको तेस्रो सबैभन्दा बढी संक्रमित तथा आठौं नम्बरमा सबैभन्दा बढी मानिस मर्ने देश पनि हो। भारतमा हालसम्म १० लाख ७७ हजार ८ सय ६४ मानिस संक्रमित भएका छन्। जसमा २६ हजार ८ सय २८ जनाको निधन भइसकेको छ।
 
यस्तै, पाकिस्तानमा २ लाख ६१ हजार ९ सय १६ जना संक्रमित भेटिएका छन्, जसमा ५ हजार ५ सय २२ जनाको निधन भएको छ। संक्रमणको हिसाबले पाकिस्तान विश्वको १२ औं सर्वाधिक प्रभावित देशभित्र पर्छ। 

बंगलादेशमा पनि २ लाख २ हजार ६६ जना प्रभावित छन्। यो संख्या विश्वको सूचिमा १७ औं नम्बरमा हो। यहाँ २ हजार ५ सय ८१ जनाको निधन भएको छ। 

दक्षिण एसियामा सबैभन्दा कम प्रभावित देश भनेको भुटान हो। भुटानमा ८७ संक्रमित फेला परेका छन्, जहाँ एक जनाको पनि निधन भएको छैन।

 यसपछि श्रीलंकामा २७ सय ३ जना संक्रमित भेटिएका छन्, यहाँ ११ जनाको निधन भएको छ। माल्दिभ्समा २९ सय ३० जना संक्रमित देखिएका छन्, जसमा १५ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-07-19 07:49:37

प्रतिकृया दिनुहोस्