भारतमा कोरोनाभाइरसबाट कूल संक्रमितको संख्या नौ लाख नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बिहानसम्म नौ लाख सात हजार ६४५ लाई संक्रमण भएको छ। संक्रमण दर बढ्दो गतिमा छ। पछिल्लो २४ घन्टामा भारतमा २८ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।
पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ४९८ र तमिलनाडुमा चार हजार ३२८ संक्रमित भेटिएका छन्। यी दुई राज्य बढी प्रभावित छन्। त्यसपछि दिल्ली बढी प्रभावित छ।
विश्वमा धेरै कोरोना संक्रमण हुने देशमध्ये भारत तेस्रो हो। अमेरिकामा सबैभन्दा धेरै करीव ३४ लाख ८० हजार र ब्राजिलमा १८ लाख ९० हजार संक्रमित छन्।
भारतमा कूल संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ जना निको भइसकेका छन्। अहिले तीन लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ। भारतमा २३७२७ जनाले ज्यान गुमाइसकेका छन्।