विदेशमा संक्रमितमध्ये २७ हजार बढी नेपालीले कोरोनालाई जिते

विदेशमा संक्रमितमध्ये २७ हजार बढी नेपालीले कोरोनालाई जितेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

एनआरएनएको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमणमुक्त भएका हुन्। 

यस्तै कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित रहेकाे समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए।

यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको निधन भएन। विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको डा. सापकोटाले जानकारी दिए।

उनका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ।

यसैबीच नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको छ।

यसैगरी १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ। विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-12 09:43:33

प्रतिकृया दिनुहोस्