शनिबार नेपालमा कोरोना भाइरसका ७० जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ३ हजार ६ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रदेशअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं १ मा १३, प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा सात तथा प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा पाँच/पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
आज सबैभन्दा बढी सिन्धुपाल्चोक र दाङमा पाँच/पाँच, सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा चार/चार, मोरङ, काठमाडौँ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा तीन/तीन, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा दुई/दुई, सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एक/एक संक्रमित भेटिएका छन् ।
यो सँगै शनिबार दिउँसोसम्म १६ हजार ७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै कोरोना संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ । छ जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ४३१ जना निको भएर डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म ८ हजार ४८२ जना संक्रमण मुक्त भएका छन्।
अहिलेसम्म संक्रमितमध्ये ५०.५ व्यक्ति निको भइसकेका छन् भने ३८ जनाले ज्यान गुमाएका छन्।
अस्पतालका आइसोलेसनमा संक्रमित एक्टिभ केस ८ हजार २ सय ४९ रहेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ९७ छ भने आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या आठ हजार २३९ छ ।
प्रदेश १ का क्वारेन्टाइनमा दुई हजार ७७४, प्रदेश२ मा दुई हजार ९६५, वाग्मती प्रदेशमा एक हजार ९२८, गण्डकी प्रदेशमा चार हजार १९७, प्रदेश नं ५ मा पाँच हजार १९९, कर्णाली प्रदेशमा एक हजार ८१८ र सुदूरपश्चिममा पाँच हजार २१६ जना क्वारेन्टाइनमा बसेका छन् ।
नेपालका ७७ मध्ये ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्। प्रवक्ता प्राडा गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय संक्रमित छैनन् ।