(छन्द: पञ्चचामर)
म भानुभक्तको सँधै अनन्त गर्छु सम्झना
म भानुभक्तको अझै झुकेर गर्छु बन्दना
रचेर रामको कथा भरेर ज्ञानको छवि
कथेर काव्य शास्त्रनै भयौनि आदिका कवि
समाजका विकारको गरेर व्यक्त शब्दमा
कवित्व छाप राख्दछौ गरेर बात छन्दमा
प्रभातको प्रकाशले दिगन्त कान्ति फैलियोस्
चराचरै ति भानुको सहस्त्र कीर्ति फैलियोस्
महान व्यक्तिको सँधै अगाध हुन्छ कल्पना
मरेर जान्छ देह यो अमर् रहन्छ सम्झना
सुरम्य यो धरा महां विनम्र एक प्रार्थना
सुकर्मको दियो जले रहन्छ कीर्ति विश्वमा