अस्ट्रेलियामा ठगी मुद्दामा एक नेपाली विद्यार्थी जेल चलान (भिडियाेसहित)

अस्ट्रेलियामा ठगी मुद्दाका आरोपित एक नेपाली विद्यार्थी जेल चलान भएका छन्। 

न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित एक अदालतले बिहीबार २० वर्षीय ती नेपाली विद्यार्थीलाई १८ महिनाको अधिकतम कारावास सजाय सुनाएको नाइन न्यूज डटकमले जनाएकाे छ। 

न्यूसाउथवेल्स प्रहरीले ती नेपाली विद्यार्थीलाई गत मार्च ३ तारिखमा ठगी आरोपमा पक्राउ गरेको थियो।

पक्राउपश्चात् गरिएको अनुसन्धानमा सन् २०१८ मा ‘आईटी’ विषय अध्ययन गर्नका लागि सिड्नी आएका ती नेपालीले भारतबाट संचालित गिरोहको सञ्जालसँग मिलेर अस्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टी भएको छ।

लगतै उनलाई छलकपट गरेर आर्थिक लाभ लिएकोसहित १० वटा आरोप लगाउँदै स्थानीय बरउड अदालतमा पेश गरेको थियो। अदालतमा उनले ती सबै आरोपहरूमा आफू दोषी रहेको स्वीकार गरेका थिए।

समाचारमा जनाइएअनुसार उनले चार अस्ट्रेलियन नागरिकको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरेका थिए। 

उनले दिएको बयानअनुसार ठगहरूको गिरोहले मानिसहरूलाई फोनमा बैंकको एजेन्ट बनेर कुरा हुन्थ्यो। कुराकानीमा उनीहरूका क्रेडिटकार्ड कसैले दुरुपयोग गरेर पैसा चोरिरहेको छ भन्दै मर्मत गर्नका लागि उनी घरमा जान्थे।

तत्पश्चात् उनले कार्ड मर्मत गर्ने बहानामा त्यसमा भएको ब्यालेन्स आफ्नो बैंक खातामा पठाउने गर्दथे। यसरी ठगी गरेको पैसाको केही हिस्सा आफूले राखेर बाँकी भारतमा रहेका गिरोहलाई पठाउने गरेको अदालतको बयानमा उल्लेख गरिएको छ।

यद्यपी कारावास सकिनासाथ उनी डिपोर्ट हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि, सिड्नीमै ठगी गरेकाे आराेपमा १९ वर्षको युवक र २१ वर्षकी युवती समातिएका छन्। 

उनीहरुले पनि छलकपटपूर्वक पाँचौं दर्जा भन्दा बढीसँग पैसा असुल गरेको र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दा भाेगिरहेका छन्।

प्रहरीको प्रारम्भिक वयानअनुसार उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न देखिएको र यसैगरी बैंक खाता खोल्न लगाइ ठग्ने काममा लागेको पाइएको छ। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-07-10 07:02:53

प्रतिकृया दिनुहोस्