प्रभावकारी भएनन् विकासका काम

कर्णाली प्रदेश सरकारले जुम्लामा सञ्चालन गरिरहेको विकास योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति (जिसस)को टोली गाउँमा पुगेका छन्। यहाँका एक नगरपालिकासहित आठवटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिसस उपप्रमुख कार्मा बुढाले जानकारी दिए।  

एक इञ्जिनीयरसहित चार ओभरसियर र जनप्रतिनिधि टोली गाउँमा पुगेको उनले बताए। 'हामीले स्थानीय तहको अनुगमन समितिलाई पनि प्रदेश योजनाको अनुगमनका लागि आग्रह गरिरहेका छौँ। समय अभावका कारण जान सकेका छैनन्' उनले भने। 

यहाँको कृषि, पशु अस्पताल तथा पशु सेवा, पूर्वाधार विकास, सामाजिक विकास तथा वन डिभिजन कार्यालयलगायतका प्रदेश सरकार मातहतका सबै कार्यालयका विकास योजनाको अनुगमन गर्न थालिएको हो। अनुगमनका क्रममा प्रदेश सरकारबाट सञ्चालित विकास योजनाको काम प्रभावकारी हुन नसकेको पाइएको जिससले जनाएको छ।

अनुगमनपश्चात् समग्र विकास गतिविधिको प्रतिवेदन प्रदेश सरकारलाई पठाइने छ। योजनाको प्रभावकारिता र पारदर्शीताका लागि निरन्तर अनुगमन गरिरहने जिससका प्रमुख लालबहादुर सार्कीले बताए। 

पछिल्लो समयमा समन्वय समितिलाई विकास निर्माणका क्रियाकलापमा संलग्न नगरिने बताउदैं उनले भने, 'अनुगमनका लागि टोली गाउँमा पुगेको छ।'

 अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै विकास योजनालाई दीर्घकालीन र गुणस्तरीय बनाउन पहल भइरहेको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2020-07-09 14:35:03

प्रतिकृया दिनुहोस्