सिन्धुपाल्चोकमा बाढी, पहिरो: मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो

गएरातिको अविरल वर्षासँगै  सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परि मृतक, घाइते र बेपत्ताको पहिचान खुलेको छ।

स्थानीय खहरे खोलामा आएको बाढी र पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन्। पहिरोमा अझै २० बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। 

बाह्रविसे नगरपालिका–५ गाती जम्बुमा बाढी, पहिरोले ११ घर बगाउँदा दुईको मृत्यु भएको छ। पहिरोमा परी चार घाइते हुँदा १६ बेपत्ता छन्।

पहिरोमा परेर स्थानीय २० वर्षीय निकेश बस्नेत र उनको डेढ वर्षकी छोरी मिनाको मृत्यु भएको छ। त्यस्तै माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ (मृतकका श्रीमती) र मिङ्मा तामाङ घाइते भएका छन् ।  

गम्भीर घाइते भएका सुवेश र सवितालाई उपचारको लागि हेलिकप्टरबाट राजधानी लगिएको छ। बाँकी दुईको अवस्था सामान्य छ। 

घाइतेको उद्धार गर्न नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा र कांग्रेस नेता विष्णु खत्री हेलिकप्टर लिएर आइपुगेका थिए। सोही हेलिकप्टरमा घाइतेलाई अस्पताल लगिएको हो ।  

प्रहरीका अनुसार जम्बु बाढी, पहिरोमा भीम वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पाशाङ डोल्मा, निमा डोल्मा, लक्ष्मण वाइवा, सुनमाला वाइबा बेपत्ता छन्। 

त्यस्तै जनकबहादुर थिङ, सलिना तामाङ, आकाश तामाङ, हिमेश शर्मा, आकाश केसी, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र यूक्तबहादुर तामाङ पनि बेपत्ता छन्। यसमध्ये बेपत्ता शर्मा निर्माणाधीन मध्यभोटेकोसी आयोजनाका सेक्रेटरी र केसी जाइकाका इन्जिनियर हुन्। 

त्यस्तै भोटेकोसी–५ बुल्कोटी गाउँका दुई घर बग्दा चार जना बेपत्ता हुनुका साथै दुई घाइते भएका छन्। बेपत्ता हुनेमा निमादोर्जे, मञ्जु, पाशाङनोर्बु र पायल तामाङ रहेको प्रहरीले जनाएको छ। फूर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते भएका छन्। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा बेपत्ताको खोजी कार्य गरिरहेको डिएसपी काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-07-09 13:58:03

प्रतिकृया दिनुहोस्