हावाबाट पनि कोरोना फैलिन सक्ने ३२ देशका वैज्ञानिकको दावी

बिएल संवाददाता

न्यूयाेर्क

 वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दावी गरेका छन्।  

विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दावी गरेका हुन्।

तर उनीहरुले आगामी सातासम्म यसको प्रमाणसहित कुनै एउटा जर्नलमा रिपोर्ट प्रकाशित गर्ने बताएका छन्। 

साथै उनीहरुले हावामा कोरोना भाइरसका जीवाणु भेटिएकाले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई समेत गाइड लाइनलाई परिवर्तन गर्न माग गरेका छन्।

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ।

यस्तै संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा कुराकानी गर्दा वा हाछ्युँ गर्दा, हात, मुख, आँखा र नाकमा हात लैजाँदा सार्ने बताउँदै आएको छ। 

रिपोर्टमा वैज्ञानिकहरुले हाछ्युँ गरेपछि हावामा जाने जीवाणु एक कोठा बराबरको ठाउँसम्म फैलिन सक्ने र त्यसमा रहेको भाइरसले अन्य व्यक्तिलाई संक्रमण गर्ने दावी गरेका छन्। 

डब्ल्युएचओले वैज्ञानिकहरूको पछिल्लो दावीबारे कुनै प्रतिक्रिया नदिए पनि यसबारे ठोस प्रमाण नभएको र अनुसन्धान जारी रहेको बताउँदै आएको छ।

डब्ल्युएचओका डा. बेनेडेटाले पछिल्लो दुई महिना देखिनै हावाबाट कोरोना सार्ने बारेमा धेरै छलफल र अध्ययन भएको तर यसको ठोस प्रमाण फेला नपरेको बताए।       

प्रकाशित मिति: : 2020-07-06 08:47:27

प्रतिकृया दिनुहोस्