नक्कली सवारी पास बनाएर यात्रु ओसार्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय, बाँकेबाट जारी गरेकाे नक्कली पास प्रयाेग गर्ने ३ जनालाई नागढुंगाबाट पक्राउ गरिएकाे हाे।
पक्राउ पर्नेमा बसका मालिक पूर्णप्रसाद गौतम, बस चालक आषिश थापा र नक्कली पास बनाउने बाँकेकै बिशाल शाही रहेका छन्।
उनीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट ३७ यात्रु बोक्न पाउने पास जारी गरेर ना ६ ख ८४४५ नम्बरको बसमा २४ जना यात्रु बोकेर काठमाडौं आएका थिए।
नागढुंगा चेक प्वाइन्टमा खटिएको प्रहरीले साेधपुच्छ गर्दा शंकास्पद हर्कत देखाएपछि पासबारे छानबिन थालिएकाे थियाे।
जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास किर्ते गरेर बनाइएकाे ठहर भएपछि बस नियन्त्रणमा लिइएकाे डीएसपी श्रेष्ठले जानकारी दिए।
बसमा सवार यात्रुहरूलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टरमा पठाइएको छ। यस्तै सवारी चालक थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।
नक्कली पास बनाएर काठमाडौं छिरेको आशंकामा प्रहरीले पछिल्लो समयमा नागढुंगा चेक प्वाइन्टमा सुरक्षा चेकजाँच तिब्र बनाएको छ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयको पास बिना काठमाडौं भित्रिनेलाई कडाई गर्न थालेकाे छ।
प्रहरीले आइतबार मात्र बिना पास काठमाडौं भित्रिन खोज्ने ४३ ओटा मोटरसाइकल, ४२ कार, ३ ओटा ट्रक र २ ओटा बसलाई फिर्ता पठाएको छ। पास बिना आएका उक्त सवारीलाई जताबाट आएको हो उतै पठाइएको प्रहरीले जनाएको छ।