बाँकेमा पूर्वएमाले कार्यकर्ताकाे नारा: ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’

बाँकेको कोहलपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ। 

आइतबार साँझ ‘पूर्व एमाले’का निकट विद्यार्थी संगठन अनेरास्ववियूको अगुवाईमा कोहलपुरमा प्रदर्शन गरिएको हो। उनीहरुले ओली नेतृत्वको सरकार ढाल्नको लागि देशी तथा विदेशी तत्वको षडयन्त्र भइरहेको भन्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई,’ ‘पार्टी एकता कायम गरौं’, ‘हिमाल, पहाड तराई, कोही छैन पराई,’ ‘नेकपा जिन्दावाद,’ ‘भारतीय विस्तारबाट मुद्रावाद’ भन्ने नारा समेत लगाएका थिए। 

नेकपा हाई कमाण्डमा देखिएको विवादको असर स्थानीय स्तरमा समेत देखिएको छ। अहिले यहाँका आफ्नो पक्षका नेताहरुको पक्षमा कार्यकर्ताहरु दुई कित्तामा समेत बाँढिएका छन्। खासगरि पूर्वमाओबादी र पूर्वएमालेको कित्ता बाँकेमा देखिएको छ। 

आइतबार साँझ कोहलपुरको चौराहादेखि प्रदर्शन गर्दै न्युरोड–एनटिभि रोड हुँदै पुनःचौराहामा आएर कोण सभामा परिणत भएको थियो।  उक्त कोण सभामा बोल्ने अधिकांश नेताले केपी शर्मा ओलीको विकल्प नभएको बताएका थिए।  

प्रदर्शनमा पूर्वमाओबादी कार्यकर्ताहरुको सहभागिता थिएन। तर पूर्वएमालेका भने स्थानीयदेखि प्रदेश स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। सोमबार पार्टी कार्यलयमा भर्ना दिने कार्यक्रम रहेको छ।
 

प्रकाशित मिति: : 2020-07-05 19:15:15

प्रतिकृया दिनुहोस्