झुटा विवरण पेश गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिएको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरीबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको हाे। उनलाई आइतबार आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीको अनुसन्धानमा झुटा विवरण पेश गरी नागरिकता लिनेमा भारतीय, भुटानी र तिब्बती नागरिक रहेको उल्लेख छ।
गत मंसिर १० गते आचार्यसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ।
कर्मचारीसहित बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष शनिलाल राजवंशी समेत उक्त घटनामा संलग्न रहेको प्रहरीको आरोप छ। घटनामा संलग्न भएको आरोपमा ४६ जनामाथि उजुरी परेको छ। उजुरीलगत्तै दुवै वडाध्यक्ष फरार छन्।