बालिकालाई बलात्कार गरेको अभियोगमा विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी पक्राउ परेका छन्।
शिवाकोटी ‘मेकिङ नेपाल’ युट्युब च्यानलका सञ्चालक हुन्।काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको आराेपमा उनलाई पक्राउ गरिएकाे हाे।
प्रहरीका अनुसार शिवाकोटी, बालिकाहरु र उनका आमाबुवा ४ वर्षदेखि एकै घरमा बस्दै आएका थिए। शिवाकोटीले १३ वर्षीया बालिकालाई एक वर्षदेखि र १२ वर्षीय बहिनीलाई चैतदेखि डर, त्रास देखाएर यौन शोषण गर्दै आएका थिए।
प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुसम्म पुगेका थिए।
‘सम्वेदनशील अंगमा छुँदै, भनिस भने तलाई, तेरो बाबुआमा मारिदिन्छु। तेरो बहिनीलाई पनि त जस्तै बनाउँछु भनेछ। छोरी डराइँछे। डर, धाक, धम्की देखाएर १४ महिनादेखि शोषण गर्यो,’ पीडित बालिकाकाे आमाले भनेकी छिन्।
पीडित बालिकाका अनुसार आमा र बुबा बाहिर गएका बेला शिवाकोटीले यौन दुर्व्यवहार गर्ने गरेका थिए। उनी अहिले डिप्रेसनको शिकार भएको पाइएको छ।
पीडित बालिकाकी आमाका अनुसार उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, ग्राण्डी लगायतमा लगिए पनि समस्या समाधान भएको थिएन। तर, कान्छी छोरीलाई पनि दुर्व्यवहार गर्न थालेपछि आफूले घटनाबारे थाहा पाएको उनी बताउँछिन्।
पीडितकी आमाले दुबै छोरी १० महिनादेखि विरामी परेको बताइन्। ‘४५ केजी तौलबाट २५ किलोमा पुगेकी छिन्। डिप्रेसनको औषधि खुवाइरहेका छौं,’ पीडितका बुवाले भनेका छन्।
बिरामी भएर सुतेको अवस्थामा पनि शिवाकोटीले छोरीमाथि कुकृत्य गरेको उनको बुबाको भनाइ छ।
अहिले पीडित बालिकालाई मनोसामाजिक परामर्शदातामार्फत काउन्सिलिङ गरिराखिएको छ।
जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद लिएर शिवाकोटीविरुद्ध अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।