भारतबाट आएर सल्यानकाे क्वारेन्टाइनमा बसेका ७८ जना भागे

संकेतिक तस्वीर

सल्यानकाे बन्गाडकुपिण्डे नगरपालिकाका दुईवटा क्वारेन्टाइनबाट ७८ जना भागेका छन्। 

पीसीआर रिपोर्ट आउन ढिलाइ भएको भन्दै आधारभूत विद्यालय, लाहाघाटबाट ७१ र भानुभक्त प्रावि, खनियाखर्कबाट ६ जना भागेका हुन्। 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलका अनुसार भारतको गढुवाल र गुरजातबाट आएका नागरिकलाई ती क्वारेन्टाइनमा राखिएको थियो। 

क्वारेन्टाइनमा बसेका ३ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि असार १२ गते ७४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको उनले जानकारी दिए।

‘सुर्खेतमा मेसिन बिग्रिएपछि स्वाब परीक्षणका लागि नेपालगन्ज पठाइएको जानकारी आएको छ,’ उनले भने, ‘धेरै चाप भएकाले परीक्षण गर्न समय लागेको देखियो।’

 भागेकाहरुकाे अवस्थाबारे जानकारी नहुँदा गाउँमा संक्रमणको जोखिम बढेको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए।

 

प्रकाशित मिति: : 2020-07-03 18:51:25

प्रतिकृया दिनुहोस्