अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) लाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन्।
अमेरिकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको बेला ट्रम्पले ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा सो अभिव्यक्ति दिएका हुन्।
उनले फैलन नहुने भाइरसलाई चीनले विश्वभर फैलिन दिएको गम्भीर आरोप पनि लगाएका छन्।
उनले भने, ‘यो चिनियाँ प्लेग हो। फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो। हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं। तर मसी सुक्न नपाउँदै यसले प्रभावित पार्यो।’
के हो ‘प्लेग’ ?
करिब ११० वर्ष अगाडि मार्च ६, १९०० मा सेन फ्रान्सिस्को चाईनाटाउनस्थित एक होटलको बेसमेन्टमा ४१ वर्षीय चिनियाँ–अमेरिकी कामदार चीक जिनको शव भेटिएको थियो। मृत्युको प्रमाणपत्र लेखिरहँदा एक डाक्टरले शवमा अचम्म लाग्ने धुलो किसिमको पदार्थ (नोडुलस) पाएका थिए।
ल्याबमा गरिएका परीक्षणमा मृत्युको कारण डरलाग्दो बुबोनिक प्लेग रहेको पाइयो।
अमेरिकामा पुष्टि भएको पहिलो केस यही थियो। पुष्टि भएसँगै सहरमा भर्खर बनेको स्वास्थ्य विभागले चाइनाटाइनका बासिन्दालाई पूर्ण क्वारेन्टाइनमा राख्यो।
दुई वर्षसम्मको समय प्लेगको अस्तित्व नमान्ने क्यालिफोनिर्याका आधिकारिक व्यक्ति र बढिरहेको महामारीलाई रोक्न लडिरहेका वैज्ञानिकहरुबीच अपत्यारिलो संघर्ष चलेको थियो। त्यतिन्जेल एक अग्रणी वैज्ञानिकको कुरा पनि मानिएको थिएन, र, यो भयानक रोगबाट हजारौंको संख्यामा मृत्यु भयो।
मध्ययुगीन समयमा एसियाभरि फैलिएको थियो। लाखौं मरिसकेका थिए र संयुक्त राज्यका सार्वजनिक स्वस्थ्य अधिकारीहरु यो प्यासिफिकबाट दक्षिणी तटका बन्दरगाहसम्म आइपुग्न सक्छ भन्नेमा लामो समयदेखि डराएका थिए। यो खतरनाक संक्रामक रोगले मुख्यतः घातक थियो।
प्लेग उत्तरी चीनमा सन् १९१० मा देखा पर्यो। १९१० को शरद् ऋतुमा सुरु भएको प्रकोपले सन् १९११ सम्म करिब ६३ हजार व्यक्तिको मृत्यु भइसकेको थियो।
उत्तरपूर्वी शहर हरबिन प्रभावित बनेको थियो। हरबिन अन्तर्राष्ट्रिय शहर थियो। जहाँ चिनियाँ पूर्वी रेल्वेका लागि भारी संख्यामा रहेका रुसीले काम गथ्र्ये। हरबिन शहरको चिनियाँ पूर्वी रेल्वेलाई तेस्रो साइबेरियन रेल्वे हुँदै जापान नियन्त्रित बन्दरगाहसम्म जोड्थ्यो।
मनचुरियाको नामले परिचित हरबिन जनघनत्व अत्यन्तै बढी भएको र त्यत्तिबेला चिनियाँ, जापानी र रुसी प्रभावको क्षेत्र अन्तगर्त पर्दथे।
अधिकांश भूभागमा चिनियाँ सरकारको शासन चल्थ्यो। बन्दरगाह क्षेत्रमाथि जापानको नियन्त्रण थियो। रुसले मनचुरिया रेल्वे सञ्चालन गरेको थियो।
रेल्वेले जोडिएको हरबिन शहरमा भारी संख्यामा जापानी, अमेरिकी र यूरोपेलीहरु ब्यापार गर्थे। त्यत्तिबेला सञ्चालन गरिएको ब्यापारमध्ये भुवा पनि एक थियो। र भुवा उद्दोगबाट नै रोगको प्रकोप सुरु भएको हुनसक्ने अनुमान गरिन्छ।
प्लेगको लक्षण त्यत्तिबेलाको प्रमुख रेल्वे टर्मिनल हुँदै फैलिएको थियो। तेञ्जिन, वेइजिङ रेल्वे हुँदै वुहानसम्म निमोनियाको लक्षण रहेको प्लेगको संक्रमण फैलिएको थियो। प्लेग प्रकोपको मुख्य कारणबारे अझै स्पष्ट छैन्।
तर चिनियाँ–रुसी सीमा नजिकको मंगोलियन शहर मञ्जाउलीस्थित रुसी चिकित्सकहरुले रोगको लक्षण भयावह रहेको बताएका थिए। सुरुमा ज्वरोसँगै खोकीमा रगतका छिटा आउने लक्षण देखिएको थियो। मञ्जाउलीमा मृत शरीर गल्लीमा छोडिएको र चिनियाँ पूर्वी रेल्वेको डब्बालाई क्वारेन्टाइन वार्डमा परिणत गरिएको थियो।
मञ्जाउलीबाट करिब दुई हजार माइल टाढा रहेको सांघाइ शहरसम्म प्लेगको संक्रमण पुग्न सफल भयो। संक्रमणको जोखिम न्यूनीकरण गर्न सांघाइ शहर त्यत्तिबेला लकडाउन गरिएको थियो। हरबिनको झुपडपट्टीमा बिस्तारै रोगको प्रकोप फैलिन थाल्यो। ८ नोभेम्बर, १९१० सम्म हरबिनमा मृतकको संख्या पाँच हजार २७२ पुगेको थियो।
प्रकोपको प्रभाव तीब्र हुँदै गयो। उपभोग्य सामग्री पुर्याउन अवरोधहरु थपिए। क्वारेन्टाइन केन्द्रहरु निर्माण गरियो। मालवाहक रेल्वेको डब्बा क्वारेन्टाइन केन्द्रको रुपमा परिणत भए। मृतकको आफन्त र भुवाको ब्यापारमा संलग्नहरु क्वारेन्टाइनमा बसे। पाँचदेखि दश दिनसम्म क्वारेन्टाइनमा बसेपछि लक्षण नदेखिएको अवस्थामा घडी आकारको काँच हातमा बाँधिन्थ्यो। जसले प्लेगमुक्त रहेको संकेत गथ्र्यो। मृत्युदर शत प्रतिशत रहेकोले प्लेग लागेकालाई रेल्वेको बुगिसहित सामूहिक संस्कार गरिन्थ्यो।
प्रकोप नियन्त्रणका लागि चिनियाँ अधिकारीहरुले मलेसियाली मूलका चिनियाँ चिकित्सक वु लेन–तेलाई जिम्मेवारी सुम्पेका थिए। चिकित्सक वुले पोष्टमार्टम गरेर निमोनिक प्लेगबाट मृत्यु भएको पुष्टि गरेका थिए।
चीनले सन् १९११ को सुरुवातमै चिकित्सक र संक्रामक रोग विशेषज्ञलाई हर्बिन शहरमा परिचालन गर्यो। जनवरी ३० मा चिनियाँ नयाँ वर्षमा प्रवासीहरुको चीन यात्रालाई रोक्न नसकिने ठम्याउँदै त्यत्तिबेला हर्बिन शहरमा चिकित्सक परिचालन गरियो।
कतिपय अवस्थामा नियन्त्रण प्रयास अत्यन्तै डरलाग्दो हुन्थ्यो। बस्दै आएको घरमा प्लेगको संक्रमित फेला परे जलाइन्थ्यो। यद्दपी वु को प्लेग विरुद्धको सावधानीहरु काम लाग्यो। सफा क्षेत्र, क्वारेन्टाइन, लकडाउन, आइसोलेश, यात्रा प्रतिबन्ध र माश्क लगाउने कार्यहरु कार्यान्वयनमा ल्याइयो। र हर्बिनमा जनवरी अन्त्यसम्म संक्रमण दर अत्यन्तै घटेर आयो।
तर संक्रमण भने रेल्वेलाइन हुँदै अन्यत्र फैलिसकेको थियो। सन् १९११ को जनवरी अन्त्यसम्म शेनयाङ शहरमा दुई हजार ५७१ जनाको मृत्यु भयो। शेनयाङमा पनि प्रतिबन्ध तथा सावधानीका उपायहरु अबलम्बन गर्न सुरु गरियो। संक्रमण दर घटेर गयो। तर रेल्वेलाइन अझै टाढासम्म रहेकोले संक्रमण प्रमुख बन्दरगाह रहेको डलिन नजिकको शहरहरुसम्ममा समेत संक्रमित फेला पर्न सुरु भयो।
शहरमा एकैपटक रेल यात्रु र जहाज यात्रुको परीक्षण कार्य सुरु गरियो। डलिनलाई संक्रमित हुनबाट जोगाउन रेल सेवालाई शहरभन्दा टाढै रोकियो र बन्द गरियो। छिटफुट रुपमा संक्रमित फेला परेपनि त्यत्तिबेलासम्म संक्रमण भने रोकिसकेको थियो। र अन्तिम चरणको सामूहिक संस्करण गरियो। प्लेगको कारण, संक्रमण रोक्न अपनाइएको सावधानीबारे बहस गर्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरियो।
विश्व शक्ति राष्ट्रहरुको उक्त क्षेत्रमा प्रभुत्वका बीच चीनका लागि अन्तर्राष्ट्रिय सम्मेलन डाक्नु जोखिमपूर्ण थियो। उक्त सम्मेलनबाट नै प्रकोपका बीच चीनले देखाएको ठूलो योगदान र साहासको चर्चा अझै गरिन्छ। र सम्मेलनका विशेषज्ञ सहभागीहरुले वैज्ञानिक अनुसन्धान नै सम्मेलनको प्राथमिक उद्देश्य रहेको बताएका थिए।
अप्रिल ३, १९११ मा शेनयाङको शाओ हो येन दरबारलाई मध्यरातमै सम्मेलन स्थलको रुपमा परिणत गरियो। बैठक कक्ष, प्रयोगशाला, आवासीय सुविधासहितको सम्मेलन स्थल तयार गरियो। विश्वका चर्चित अनुसन्धान प्रतिष्ठानमा आबद्ध इटाली, मेक्सिको, जर्मनी, अष्ट्रिया–हंगेरीले पनि आ आफ्नो विज्ञ पठाएको थियो।
सम्मेलनमा लक्षण नदेखिएपनि संक्रमण फैलने जोखिम, सुपर ‘स्प्रेडर’, ब्याक्टेरिया मिश्रित खाना पस्किने जस्ता अफवाहमाथि पनि छलफल भयो। तर संक्रमणलाई रोक्ने उपाय अबलम्बन गरिनु नै उक्त सम्मेलनको मुख्य सन्देश थियो। आकस्मिक क्वारेन्टाइन, यात्रा प्रतिबन्ध, माश्क लगाइनु जस्ता सावधानीका उपाय अपनाएर प्लेगमाथि नियन्त्रण गर्न सफल भएको सम्मेलनको मुख्य निचोड भएर आयो।
प्लेगको प्रकोप चीन, मंगोलिया र रुसबाहिर संवेदनशील भएर फैलिन नसक्नुको एउटै कारण थियो। डलिनस्थित बन्दरगाहमा ताल्चा लगाइएको नभए उक्त प्रकोप बन्दरगाह हुँदै जापान, कोरिया, हङकङसहित एशिया हुँदै विश्वका अन्य राष्ट्रमा फैलन सक्थ्यो।
औषधि र उपचार त्यत्तिबेला पनि थिएन। त्यत्तिबेला चीनसँगै विश्व समुदाय संक्रमण रोक्न र प्लगेको संक्रमणबाट सिक्न एकै ठाउँमा उभिएको थियो।
करिब ११० वर्ष अगाडि चीनमा अपनाइएको सतर्कताले त्यो रोग थप फैलिन दिएन्।
नेसनल जियोग्राफिक डटकम र सीएनएन