टेक्सासमा सार्वजनिक स्थानमा मास्क अनिवार्य, नियम तोडे २५० डलरसम्म जरिवाना

अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरिएकाे छ।

कोरोना भाइरस महामारीको हालको इपिसेन्टरका रुपमा विकसित भएपछि रिपब्लिकन गभर्नर ग्रेग एबोटले उक्त राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेका हुन्।

सुरुवाति चरणमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि चिन्ता जनाएका छन्।

उनले सर्वसाधारणलाई सार्वजनिक स्थानमा जाँदा अनिर्वाय मास्क लगाउन आग्रह गरेका छन्।

उनको नयाँ आदेश अनुसार सुरवाति चेतावनी दिएपछि पनि मास्क नलगाउनेलाई २५० अमेरिकी डलरसम्म जरिवाना तिराइने पनि चेतावनी दिएका छन्।

उनको यो निर्देशन २० भन्दा बढी संक्रमित रहेका राज्यका काउन्टीहरुमा लागु हुन्छ।

टेक्सासका २५४ काउन्टी मध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित रहेका छन्।

अमेरिकाका ५० राज्य मध्ये टेक्सासमा सबैभन्दा थोरै मात्रै २८ दिन लकडाउन भएकाे थियाे। लकडाउन खुलेपछि संक्रमण तीव्र गतिमा बढेपछि बाध्य भएर पुन: लकडाउन लागु गरिएकाे छ।

यद्यपि टेक्सास राज्यमा गएको बुधबार एकै दिन ८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो।

पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी पर्नेहरुको संख्या पनि लगातार बढ्दै गएको छ। 

राज्यको अर्थतन्त्र र व्यवसायलाई प्राथमिकतामा राख्दै आएका गभर्नर एबोटले सबैले मास्क लगाएमा व्यापार व्यवसाय चाँडो खोल्न पाइने बताएका छन्।
 

प्रकाशित मिति: : 2020-07-03 06:06:13

प्रतिकृया दिनुहोस्