रौतहटमा १३ वर्षअघि इँटा उद्योगमा जिउँदै मान्छे जलाएको घटनामा संलग्न एक जना पक्राउ

रौतहटमा १३ वर्षअघि इँटा उद्योगमा जिउँदै मान्छे जलाएको घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार राजपुर नगरपालिका ६ का ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई बिहीबार बाराको सिम्रौनगढ नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हाे।

उनका अनुसार सराजले कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जना जतिलाई बोरामा राखेर ट्याक्टरमा हालेर इँटा उद्योगको चिम्नीमा लगेर जलाएको बयान दिएका छन्।

सराजलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको छ।

उक्त घटनाको मुख्य योजनाकार मानिएका कांग्रेस नेता आलम अदालतको आदेशमा हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

२०६४ चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी आफताव आलमले आफ्ना काका शेख इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए। 

त्यस क्रममा क्रममा बिस्फोट हुँदा श्रीनारायण सिंहका छोरा त्रिलोकप्रताप सिंहसमेत १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। मृत्यु भएका र घाइते सबैलाई नजिकैको इँटाभट्टामा हालेर जलाएको प्रहरीको भनाइ छ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले २४ जेठमा बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ बर्षीय मुक्ति शाहलाई पक्राउ गरेको थियो। 

प्रकाशित मिति: : 2020-07-02 19:03:43

प्रतिकृया दिनुहोस्