आन्ध्र प्रदेशको स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी कदम, एकै पल्ट १ हजार ८८ एम्बुलेन्स वितरण

भारतमा कोरोनाको संकट चुलिएको बेला आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले बुधबार बिजयवाडामा एकै पल्ट १ हजार ८८ एम्बुलेन्स वितरण गरेका छन्। उनले राज्यको हरेक ठाउँमा स्वास्थ्य इमर्जेन्सी सर्भिस उपलब्ध गराउन यो अभियान चलाएका हुन्। 

बेन्ज सर्किलदेखि राघवैया पार्कसम्म एम्बुलेन्स पार्क गरिएको थियो। मुख्यमन्त्री रेड्डीले हरियो झण्डा देखाएपछि सबै एम्बुलेन्स आ–आफ्नो जिल्ला तथा गाउँ गएका छन्। एम्बुलेन्स नेशनल इमर्जेन्सी सर्भिस १ सय ८ तथा राज्य हेल्थ सर्भिस १ सय ४ नम्बरको छ। 

कार्यक्रमको कभरेजका लागि पाँच ड्रोन क्यामेराको प्रयोग गरिएको थियो। राज्यमा कूल १३ जिल्ला रहेको छ। मुख्यमन्त्री रेड्डीले हरेक जिल्लाको इकाईसम्म पुग्ने गरि एम्बुलेन्स वितरण गरेको बताए। 

हरेक एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मिनी भेन्टिलेटर, इन्फ्यूजन पम्प, सिरिन्ज पम्प र मोर्डन स्ट्रेचरको सुविधा उपलब्ध छ। इमर्जेन्सीमा मेटरनिटीको सुविधा पनि उपलब्ध छ अर्थात इमर्जेन्सीको अवस्थामा गाडीमै बच्चालाई जन्म दिन पनि मिल्छ। 

भारतीय अखबारका अनुसार शहरी क्षेत्रमा फोन गरेको १५ मिनेटमा एम्बुलेन्स आइपुग्ने छ। ग्रामीण क्षेत्रमा भने २० मिनेट लाग्ने छ। यो योजनाको लागि २ सय १ करोड रुपैयाँ खर्च भएको राज्य सरकारले बताएको छ।

प्रकाशित मिति: : 2020-07-01 14:06:27

प्रतिकृया दिनुहोस्