महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूबाट विष्णुडोल, बखन्नी चोक, न्याठ टोल हुँदै गोदावरी खोला तथा लुभूतल्लो चौतारादेखि गोदावरी पुलसम्मको तीन सडकखण्डमा खानेपानी पाइप लाइन विस्तारको काम भइरहेको छ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत लुभूमा खानेपानी सहज बनाउन रु ३० लाख प्र्रदान गरी उक्त काम अघि बढाइएको ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले जानकारी दिए।
सो स्थानमा लगभग एक महिना पहिलेदेखि नै खानेपानी पाइपलाइन विस्तारको काम भइरहेको निर्माण कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले बताए।
विकास साझेदारी कार्यक्रममार्फत रु ३० लाख र लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निर्माण कमिटीमार्फत रु ६ लाख थप गरी रु ३६ लाखमा धमाधम काम अघि बढिरहेको उनको भनाइ छ।
'यी तीनै वटा सडकखण्डको दायाँ र बायाँ गरी दुवै स्थानमा दुईदुई वटा पाइप बिछयाइरहेका छौं' सो पाइप एकथरि ६३ एमएम ६ केजी प्रेसरको छ। टयाङ्कीदेखि चुनदेवी हुँदै गक्ष्यटोलसम्म बिछयाइएको पाइप भने ९० एमएम ६ केजी प्रेसरको ३५० मिटर र ११० एमएम ६ केजी प्रेसरको ४५० मिटर रहेको छ' उनले भने।
सो पानी १५ हजारमाथिका जनसङ्ख्याले उपभोग गर्ने बताउदैं संस्थाका अध्यक्ष इञ्जिनीयर रामबहादुर श्रेष्ठ भन्छन्, 'हाम्रो संस्थाभित्र रहेका यी सदस्यलाई हाल दैनिक छ लाख लिटर खानेपानी वितरण गर्न आवश्यक पर्छ तर पानी अभावका कारण एउटा घरलाई दैनिक ५०० लिटर पानी दिइरहेका छौं। पाइपलाई विस्तारपछि थप पानी वितरण गर्न सकिने छ । लुभूको मूलबाटोको उत्तरतर्फ बिहान र मूलबाटोको दक्षिणतर्फ भोलिपल्ट बिहान गरी पानी वितरण गर्छौँ।'
सो संस्थासँग हाल डेढ लाख लिटरको एक, दुईदुई लाख लिटरको दुई र अन्य थप गरी कूल आठ लाख लिटरको पानी भण्डारण गर्ने क्षमता रहेको श्रेष्ठको दाबी छ।