अमेरिकी राष्ट्रपति अझै अटेरी, उपराष्ट्रपतिले भने, ‘सार्वजनिक स्थलमा मास्क लगाउनू’

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सार्वजनिक स्थलमा मानिसहरुलाई मास्क लगाउन आग्रह गरेका छन्। यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्प भने मास्क लगाउन अनिवार्य गर्न हुन्न भन्ने पक्षमा छन्।

कोरोना भाइरसका नयाँ संक्रमितको संख्या अमेरिकाको केही राज्यमा पुनः बढ्न थालेको छ। नयाँ संक्रमितको संख्या पुनः बढेको राज्य टेक्सास पनि हो। 

टेक्सासका गभर्नर ग्रेग अबोटले कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बिस्तार भएको र अति जोखिमपूर्ण मोड लिएको भन्दै चेतावनी दिएका छन्।

उनले आइतबार  पत्रकार सम्मेलनमा भनेका छन्, ‘पछिल्लो केही हप्तामै दैनिक संक्रमणको औषत झण्डै दुई हजारबाट पाँच हजार भन्दा बढी पुगेको छ।’

उनले यसअघि कोरोना भाइरसको महामारीलाई कमजोर रुपमा लिँदै व्यवसायिक तथा आर्थिक पक्षलाई प्राथमिकता दिँदै आएका थिए। तर अमेरिकामा महामारीको नयाँ हटस्पट बनेको टेक्सासमा व्यवसाय सञ्चालन अनुमति दिएसँगै व्यवसायीहरुमा संक्रमणदर तीव्र गतिमा बढ्न थालेको छ। यससँगै त्यहाँ खुलेका व्यवसायहरुमा प्रतिबन्ध लगाइएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसका करिब २५ लाख ४९ हजार संक्रमित फेला परिसकेका छन्। 

त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-29 17:42:55

प्रतिकृया दिनुहोस्