भारतमा शनिबार एकै दिन २० हजार भन्दा धेरै काेराेना भाइरसकाे संक्रमित फेला परेका छन्। शनिबार एकै दिन २० हजार ६० नयाँ संक्रमित थपिएका हुन्।
२४ घन्टामा फेला परेको यो सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो। एक दिन अघि संक्रमितको संख्या १८ हजारको सीमा पार भएको थियो।
महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए। त्यहाँ ६ हजार ३ सय ६८ जनामा संक्रमण देखिएको हो। शनिबार भारतका नौ राज्यमा त्यहाँकै सर्वाधिक संक्रमित फेला परेका छन्।
एक अध्ययनले दिल्लीमा कोरोना समुदायमा फैलिसकेको बताएकाे थियाे। अध्ययनले यसलाई बेलैमा गम्भीरतासँग नलिए ठुलो दुर्घटना हुने सक्ने बताइएको थियो। रिपोर्टका अनुसार दिल्लीमा कोरोना भाइरसकाे अनुपात झण्डै ३० प्रतिशत रहेको छ।
दिल्ली सरकारले प्रत्येक घरमा गएर कोरोना परीक्षण गर्ने निर्णय गरिसकेको छ। त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन्।
यता नेपालसँग जोडिएका भारतीय राज्य बिहार हालत पनि उस्तै छ। यहाँ ३ सय १ जनामा संक्रमण देखिएको छ। यस्तै उत्तर प्रदेशमा ६ सय ७ जनामा संक्रमण देखिएको छ।
त्यस्तै शनिबारमात्रै भारतमा ४१४ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण हालसम्म भारतमा १६ हजार १०३ जनाभन्दा बढीको ज्यान गएको छ।
भारतमा कूल संक्रमितको संख्या ५ लाख २९ हजार ५ सय ३३ पुगेको छ। त्यस्तै ३ लाख १० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन्। झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ।