सिन्धुली पुग्यो सलह किरा

भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ। शनिबार तराईका विभिन्न सीमानाका हुँदै नेपाल प्रवेश गरेको सलहको एउटा सानो झुण्ड सिन्धुली आइपुगेको हो। 

कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलले जिल्लाको कमलामाई नगरपालिका २ को चियाबारी, सिमबारी, लामिस्वारा, मुडेखर्क, खुर्सानी डाँडा, खोपीखर्क, कनपा ८ को माइस्थान, करकरे र कमलामाई नगरपालिका १० को भिमान तथा भडार क्षेत्रमा सलह समुह-समुहमा देखिएको जानकारी दिए। 

जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले शनिबार दिउँसो करीब १/२ बजेपछि सलह देखिएको बताए। उनले जिल्लामा देखिएका फट्याङ्ग्राका विषयमा कृषि मन्त्रालयका कृषि विज्ञहरुसँग छलफल गरिएको र यहाँ देखिएको फट्याङ्ग्रा सलह नै भएको पुष्टि भएको जनाए।

सिन्धुलीमा आइपुगेको सलह ठूलो संख्यामा नभएर साना झुण्ड झुण्ड भएर प्रवेश गरेको उनको भनाइ छ। 

उनले तराईसँगै सीमा जोडिएको सिन्धुलीसमेत सलहको खतरामा रहेको बताए। किराको नमूना हेर्दा सलह नै रहेको अनुमान गर्दै  सो विषयमा प्राविधिकहरुसँगको छलफलपछि यथार्थ सार्वजनिक गरिने विज्ञ अधिकारीले बताए।

सलह ठूला ठूला फट्याङ्ग्राहरूको विशाल बथान हो। हावाको दिशा पछ्याएर १ सय ३० किमि प्रतिघण्टासम्मको गतिमा समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोडसम्मको संख्या हुने विज्ञहरुको भनाइ छ।

प्रकाशित मिति: : 2020-06-27 19:06:56

प्रतिकृया दिनुहोस्