चन्दननाथ नगरपालिकाकाे फाेहाेर उठ्यो

सात महिनासम्म जुम्ला खलंगामा सरसफाइ नभएपछि बिहीबार युवाहरुले फाेहाेर उठाएर नगरपालिकाकाे गेटमा थुपारिदिए। 

सांकेतिक विराेध स्वारुप फाेहाेर थुपारेका उनीहरुले प्रश्न गरेका थिए, ‘स्थानीय सरकार कहाँ छ? ‘ढल व्यवस्थापनमा सरोकारवाला निकाय किन मौन?’, ‘नगरपालिका के गर्दैछ?’ 

कुहिने र नकुहिने फोहोर वस्तु जताततै फालिदा बजार दुर्गन्धित त थियो। साथसाथै बजार क्रमश: कुरुप बन्दै गएकाे थियाे। यति हुँदा पनि बजार सरसफाइमा कसैले चासाे देखाएनन्। फाेहाेर व्यवस्थापनमा खटिएका युवा धनराज सुनारले भने, ‘सम्बन्धित निकाय सुतेपछि बिउझाउनु पर्छ हामीले।’

त्यसपछि फाेहाेकाे थुप्रो लाग्याे, चन्नदननाथ नगरपालिकाकाे गेटमा।

सफाई आन्दाेलनमा उत्रिएका युवाहरुलाई व्यवस्थित गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भनेका थिए, ‘फोहर व्यवस्थापनको जिम्मा स्थानीय तहको हो। हामी स्थानीय तहसँग कुरा गर्छाैं। फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट नभएकोले यस्तो समस्या आएको मैले बुझेको छु। आज हामीले बैठक बोलाएका छौं, यही विषयमा।’

शनिबार प्रजिअ भुपेन्द्र आफैँ कुचो लिएर सडकमा निस्किएपछि बजारको फोहोर उठेकाे छ। उनले सुरक्षा निकाय परिचालन गरे। यसमा साथ स्थानीय युवाहरुले पनि दिए। स्थानीय नागरिकले हातेमालाे गरे। 

चन्दननाथ -५ र ७ को कालेखोली, कृष्ण मन्दिर, जिल्ला प्रहरी कार्यालय, जुगाडखोलादेखि बीजयनगर सम्मको क्षेत्र सरसफाइ गरियाे।

बजार सरसफाइ गर्न जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, नगरप्रमुख कान्तिका सेजुवाल, उद्योग वाणिज्य संघ, नेपाली सेना नेपाल प्रहरी राष्ट्सेवक कर्मचारी, युवा, गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरु समेतले सहभागिता जनाए।

बजारको फोहोर तत्कालका लागि खालगाड भन्ने स्थानमा व्यवस्थापन गर्ने निर्णय प्रजिअ थापाले बताए। ‘बजार क्षेत्रको फोहोरमैला फाल्नको लागि तोकिएको स्थानमा व्यवस्थापन गर्न घेरबार चन्दननाथ नगरपालिका मार्फत डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने।

अब बजार सफा राख्न विभिन्न ठाउँमा 'फोहर मलाई' संकेत सहितको डस्बिन समेत राखिने र दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को तयारी भइरहेको चन्दननाथ नगरपालिकाले जनाएको छ।

तत्कालिन र दिर्घकालिन डम्पिङ साईडको व्यवस्था नहुने हो भने सुन्दर जुम्ला दिन प्रतिदिन कुरुप र दुर्गन्धित हुदै जाने स्थानीय बताउँछन्। 

‘चुनावताका राजनीतिक पार्टीहरुले फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाए पनि चुनाव जितेर आउनेले नगर सफा राख्न सकेनन्,’ स्थानीयकाे गुनासाे छ।

प्रकाशित मिति: : 2020-06-20 18:42:15

प्रतिकृया दिनुहोस्