भारत–चीनबीच लद्दाखको गलवान उपत्यकालाई लिएर भइरहेको विवादका बीच कुटनीति मात्र होइन, व्यापारमा पनि धेरै परिवर्तन देखिन थालेको छ।
यस्तै माहौल सन् १९६२ को युद्वमा पनि देखिएको थियो। चीनमा मात्र होइन, त्यति बेला भारतमा पनि भारत–चीनी भाइ–भाइको नारा खुब गुञ्जिन्थ्यो।
यसै बेला भारतका दिग्गज व्यापारी रतन टाटा एक चिनियाँ युवतीको प्रेममा लट्टु थिए। उनी ती चिनियाँ युवतीसँग वैवाहिक सम्बन्ध बनाउन आतुर भएको बेला भारत र चीनबीच युद्व छेडियो। यो घटनापछि भारत र चीन दुई देशबीच सम्बन्ध बिग्रिए झै उनको र ती चिनियाँ युवतीको सम्बन्ध समाप्त भयो।
ती युवतीले के गरिन् त्यो कसैलाई थाहा छैन। तर, विश्वका धनाढ्यमध्येका एक रतन टाटा अहिले पनि अविवाहित छन्। ५८ वर्ष अगाडिको त्यो घटनाका कारण टाटा ग्रुपका मालिक रतन टाटाको विवाह हुन सकेन।
रतन टाटाले हालै दिएको एक अन्तर्वार्तामा युद्वको समय आफू अमेरिकाको लस एञ्जलसमा रहेको र त्यहाँ चिनियाँ युवतीसँग सम्बन्ध भएको खुलासा गरे।
‘हामी विवाह गर्ने तयारीमा थियौं। यसै बेला मेरो हजुरआमा बिरामी पर्नुभयो र म भारत फर्किएँ। हजुरआमा एक वर्षदेखि बिरामी हुनुहुन्थ्यो। मेरो सोच थियो, म जोसँग बिवाह गर्न जाँदै थिए, उनी पनि मसँगै भारत आउने छिन्। तर, भारत–चीनबीच युद्व भएपछि उसको परिवारले उनलाई मसँग भारत पठाउन अस्वीकार गरे। यसपछि हाम्रो सम्बन्ध टुट्यो,’ रतन टाटाले भने।
उनले सानोमा आफ्नो बुवा र आमाबीच सम्बन्ध बिच्छेद हुँदा स्कुलमा धेरै अपमान भोग्नु परेको बताए। तर, आफ्नो हजुरआमाले आत्मसम्मान नगिराउन सुझाव दिएको भन्दै उनले भने, ‘मेरो आमाले अर्को बिहे गर्नुभयो। यस कारण स्कुलमा अन्य केटाकेटीहरू जे पनि भन्थे।’
उनले आफ्नो र बुवाको सम्बन्ध पनि त्यति राम्रो नभएको बताए। ‘म त्यति बेला भ्वाइलिन बजाउँथे। तर, उहाँ मलाई पियानो बजाउन कर गर्नुहुन्थ्यो। म अध्ययनका लागि अमेरिका जान चाहन्थे तर उहाँ मलाई बेलायत जाऊ भनेर कर गर्नुहुन्थ्यो। म आर्किटेक्ट बन्न चाहन्थे। तर, उहाँ मेरो बुवा इन्जिनियरिङका लागि कर गर्नुहुन्थ्यो,’ उनले भने।
उनले हजुरआमाको कारण आफूले अमेरिकामा पढ्न पाएको बताए। चिनियाँ युवतीसँग सम्बन्ध टुटेपछि उनी व्यापार व्यवसायमा व्यस्त भए। उनी ठूलो व्यापारी भए पनि मानवीय कार्यका लागि संसारभरी सम्मानित छन्। एजेन्सी