कफीमा व्यावसायिकता ल्याउनका लागि प्रदेश नं. ५ सरकारले ‘कफी उत्पादन वृद्धि कार्यक्रम’ ल्याएको छ। .
कफीको प्रशस्त सम्भावना देखिएको प्यूठान तथा अर्घाखाँचीमा यसको उत्पादन बिस्तार र विकासका लागि प्रदेश सरकारले कफी उत्पादन वृद्धि कार्यक्रम’ ल्याएको हो। यसका लागि जिल्लाको सरुमारानी गाउँपालिका–४ बड्डाँडामा चिया तथा कफी विकास कार्यालय स्थापना गरिएको छ।
कफी उत्पादन, प्रशोधन, बजार व्यवस्थापन, प्राविधिक सहयोग, तालिम सञ्चालन, कर्जा, बीउ, बेर्ना, मल वितरणजस्ता कार्यक्रममा किसानलाई सहयोग गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा आएको कार्यालयका निमित्त प्रमुख एकराज सन्ज्यालले बताए। प्यूठानमा सामान्यरूपमा केही क्षेत्रमा कफी लगाउने गरिए पनि यसलाई व्यावसायिकरूपमा खेती गर्न र उत्पादनमा वृद्धि गर्नका लागि कार्यालयले आफ्ना गतिविधि अगाडि बढाएको उनले बताए। 'जिल्लाका केही क्षेत्रमा कफीको महत्व नबुझ्दा र प्राविधिक ज्ञान नहुँदा बोट नै उखेलेर फालेको पाइयो' कार्यालय प्रमुख सन्ज्यालले भने, 'अबका दिनमा प्राविधिक ज्ञान दिइ उत्पादन वृद्धिमा सघाउ पु¥याउने छौँ।'
प्यूठानका ऐरावती गाउँपालिका—१ दाङवाङ, सरुमारानी गाउँपालिकाको हंशपुर, तिराम, जस्पुरमा व्यावसायिकरूपमा कफी लगाइएको छ भने यस स्थानमा कफी नर्सरीसमेत सञ्चालन गरिएको छ। यस क्षेत्रका करिब २० रोपनी क्षेत्रफलमा कफी लगाइएको कार्यालय प्रमुख सन्ज्यालले बताए। एक रोपनी क्षेत्रफलमा कफीको १०० बिरुवा लगाउन सकिन्छ। बिरुवा रोपिएको तीन वर्षमा कफीले फल दिने गर्दछ। अघिल्लो वर्ष केन्द्रीय कार्यालयमार्फत करिब छ हजार ५०० बिरुवा शतप्रतिशत अनुदानमा वितरण गरिएको कार्यालय प्रमुख सन्ज्यालले बताए। त्यस्तै चालू आवमा पनि कार्यालयमार्फत करिब पाँच हजार कफीको बिरुवा वितरण गरिने योजना रहेको उनले बताए।
सरुमारानी–६ तिराममा कफी पकेट क्षेत्रमा २५ किसानले कफीका बिरुवा रोपेका छन्। अघिल्लो वर्ष २०० व्यक्तिलाई कफीका बिरुवा वितरण गरिएको थियो। ऐरावती गाउँपालिका–१ अमिली च्यानधनारा बस्तीमा ४५ वर्षीय खुमप्रसाद बेल्बासेले कफीखेती गरेका छन्। उनले विसं २०६९ देखि कफीखेती गर्दै आएको बताए।
विसं २०६८ मा तालिमसँगै विभिन्न जिल्लाको अवलोकनपछि उनले गाउँमा कफीखेती शुरु गरेका हुन्। प्रतिबोट रु १० का दरले १०० बोटबाट कफीखेती शुरु गरेका बेल्बासेको पछिल्लो समय कफीखेती बढेको छ। झिमरुक औद्योगिक एकीकृत विकास केन्द्रको सहयोगमा नर्सरी राखेर कफी उत्पादन गरेको उनको भनाइ छ। बेल्बासेले आफ्नै आठ रोपनी जग्गामा कफीखेती गर्दै आएका छन्। उनले लगाएको कफी अहिले लटरम्म फलेको छ। उनले अघिल्लो वर्ष तीन क्विन्टल कफी उत्पादन गरेको बताए।
कफी उत्पादन भए पनि यस वर्ष बन्दाबन्दीका कारण बिक्रीवितरण गर्न नपाएको बेल्बासेको गुनासो छ। उनले अघिल्लो वर्ष गाउँसँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मीलगायतका जिल्लामा लगेर कफी बेचिसकेका थिए।
नेपाली कफी कोरिया र जर्मनीमा
झन्डै ८१ वर्ष पहिले गुल्मीबाट शुरु भएको कफी खेती अहिले ४३ जिल्लामा पुगिसकेको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा ५ सय १३ मेट्रिक टन कफी उत्पादन हुन्छ। गुल्मीको सहकारीबाट कफी कोरिया निर्यात हुन्छ भने ललितपुरबाट जर्मनी जान्छ। सिन्धुपाल्चोकबाट कोरिया जान्छ भने अन्य निजीस्तरबाट पनि जापान, युरोपियन मुलुकदेखि अमेरिकासम्म पुग्ने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।
साना किसानबाट माग पूरा हुँदैन
सम्भावना भएर पनि सानातिना किसानमार्फत कफीको विकास हुन नसक्ने बोर्डको दाबी छ । त्यसका लागि ठूला लगानीकर्ता नै यो क्षेत्रमा भित्राउनुपर्ने हुन्छ। 'नेपालको सम्भावना र मागलाई पूरा गर्न सानातिना किसान र सानातिना उत्पादनले हुँदैन' प्रमुख सन्ज्यालले भने, 'आज जग्गा जमिन बाँझा हुँदैछन्। माग बढ्दो छ तर ठूलो लगानी छैन।' कफी खेती गर्छु भन्नेलाई कार्यालयले सहयोग गर्ने उनको भनाइ छ। 'हामी बाटो, बिजुली, सिँचाइमा सहयोग गर्छै', यसमा ठूला लगानीकर्ता आएर लगानी गर्नुहोस् भन्ने हाम्रो आह्वान हो' उनले भने।
उत्पादनशील जमिनको ४ प्रतिशतमा मात्रै खेती
कफी खेति गर्ने किसान बढेका छन्। खेती हुने क्षेत्रफल पनि बढेको छ। तर उत्पादनशील क्षेत्रफलको अति कम जमिनमामात्रै कफी खेती हुने गरेको छ। नेपालमा कफी खेती गर्न अति उत्तम मानिएको जग्गाको ४ प्रतिशत जमिनमा मात्र कफी खेती हुने गरेको तथ्याङ्क छ।
नेपालमा ११ लाख ९८ हजार, ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिन्छ। त्यसमध्ये पनि ६१ हजार २ सय २८ हेक्टर जमिन कफी खेतीका लागि उत्तम मानिएको छ। अति उत्तम मानिएको क्षेत्रमा व्यावसायिक र प्राविधिक हिसाबले कफी खेतीलाई बिस्तार तथा विकास गर्ने हो भने ठूलो फड्को मार्न सकिने सम्भावना रहेको छ। 'उत्पादन र उत्पादकत्व वृद्धिसँगै नेपालको आफ्नै कफीलाई विशिष्टीकरण गर्न गुणस्तरमा थप सुधार गर्दै लैजानु पर्ने देखिन्छ' प्रमुख सन्ज्यालले भने।
नेपालमा अहिले ३२ हजार कफी उत्पादक किसान छन्। नेपालमा दुई जातको कफी अरेविका र रोबस्टा पाइने गरेपनि अरेविका जातको कफी उत्पादन गर्ने गरिएको छ।