कर्णालीमा ९१६ जना कोरोना सङ्क्रमित

रासस

सुर्खेत

कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ। आज मात्रै सुर्खेतमा ४० र  दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९१६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका आठ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा आज कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 
    
त्यस्तै दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखा प्रमुख डा तिवारीले बताए। सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाइएको छ।

त्यसैगरी आज दैलेख अस्पतालबाट पाँच र दुल्लु अस्पतालबाट चार गरी नौ जना निको भई घर फर्केका छन्। कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या ९१ पुगेको र हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको सङ्ख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ। 

प्रकाशित मिति: : 2020-06-13 16:03:08

प्रतिकृया दिनुहोस्