बाँसका टुक्रा जोडेर बनाइएको त्रिपालको अगाडि पट्टी मलिन अनुहारमा मिना बादी निधारमा हात लाएर बसिरहेकी छिन्। शिरमा ढाका टोपी, चाउरी परेको अनुहार र आधा शरीर ढाक्ने कपडामा उनको छेउमै बसिरहेका छन्, श्रीमान्। उनका दुबै हात पेटमा छन्। यसले भोको पेटको संकेत गरिरहेको छ। अनुहालमा बादल लागेको छ।
दृश्यले देखाइरहेको छ, यी दृष्टिविहीन दम्पित्तिको अवस्था कस्तो छ भनेर। मिनाका अनुसार अघिल्लो रात भोकै सुतिपछि झिसमिसे उज्यालो हुन नपाउँदै बजारमा माग्न हिँड्छन्। कसैले केही दिए खान्छन्। नदिए भोकै बित्छन् दिन र रातहरू। उनीहरु चरम गरिबीको भूमरीमा फसेका छन्।
उनी दृष्टिविहीन छिन्। श्रीमान सुस्तश्रवण शक्ति भएका दमका रोगी। बादी दम्पित्तिको कति बेला चुल्होमा आगो बल्ने ठेगानै हुँदैन। धेरै दिनदेखि आगो नबलेको आँगन छेउको चुल्हो खरानी पनि नरहेर खालि छ। उसैगरि उनीहरूको पेट धेरै दिनदेखि खाली छ।
बादी दम्पत्ति कोहलपुरमा बस्न थालेको मात्रै २२ वर्ष भयो। उनीहरुको घर सुदूरपश्चिमको कैलाली हो। उता छोरा, बुहारी, नातीनानिती छन्। उनीहरू प्रायः भारततिरै बस्छन्। लामो समयदेखि मागेरै गुजारा गरिरहेका छन्। गत चैत ११ गतेपछिको लकडाउनले त्यो पनि खोसिदियो।
माग्न बजारमा निस्कने अवस्था पनि भएन। जति लकडाउन बढ्दै जान्छ चरम अभाव पनि थपिँदै जान्छ। उनीहरू कहिल्यै पनि पेटभरी खाँदैनन्। ‘के गरम त माग्दै जीवन गुजारा भइरहेको छ। कसैले दिएको दिन चुल्हो बल्छ नदिए बल्दैन। कोरोना आयो भन्छन्। बजारमा माग्न गयो भने परैबाट कोही दिन्छन्, कोही दुव्र्यवहार गर्छन्। पेटभरी खान पाएको दिन छैन। भोकोपेट कतिञ्जेल बाँच्ने,’ मसिनो आवाजमा उनले भनिन्।
दृष्टिविहीन उनी राम्ररी हिँड्डुल गर्न सक्दिैनन्। दमका रोगी श्रीमान पनि राम्रोसँग कान नसुन्ने भएकोले दोहोरो संवाद गर्न समेत सम्भव छैन। कोहलपुर–११ को मुख्य सडक क्षेत्रको अलि भित्र खुल्ला चौरमा रहेको उनीहरूको त्रिपालमा जाँदा उनीहरुको कारूणिक अवस्था झल्किन्थ्यो।
बिएल नेपाली सेवाका प्रतिनिधि केही दिनअघि त्यहाँ पुग्दा समेत उनीहरू दुई दिनका भोका थिए। भूईमान्छेहरुको जीवन गुजारा गरिरहेका उनीहरूको भोको पेट पुरा खाने कुनै पनि माध्यम छैन। भोको पेट असह्य पीडा भएपछि सुस्त श्रवण शक्ति भएका श्रीमानले आफूलाई बाटोमा डोर्याउँदै लिने गरेको र दुबै जना माग्ने गरेको उनले बताइन्। पहिला आफूले काम गरेरै भए पनि जिविका चलाउँदै आएको भए पनि एक वर्ष अघि आँखाको ज्योति गुमेपछि झन् जटिल अवस्था सिर्जना भएको मिना बताउँछिन्। पहिला कोहलपुर मै ज्याला मजदुरी र इट्टा भट्टाहरुमा काम गर्ने गरिरहेकी थिइन्।
उनका श्रीमान दीपे बादी आफूलाई दैनिक पेट भरिने गरि खानेकुरासँगै औषधि उपचारको समस्या रहेको बताउँछन्। ‘औषधिमुलो गर्न त परै जाओस् दैनिक पेटभरी खाने नै प्रमुख समस्या भएको छ,’ उनले भने।
लकडाउनको लामो समय वितिसक्दा पनि उनीहरुको अवस्थाम बारे सरोकारवालाको ध्यान गएको छैन। मिना भन्छिन्,‘वडा कार्यालयमा तीन दिन धाएपछि पाँच के.जी. चामल दिएका थिए। त्यही चामलले एक छाक मात्रै खाने गरेर १५ दिन जति गुजारा चल्यो। हिजो यहिँकी एक छिमेकी अलिकति चामल दिएकी थिइन् त्यही खायौँ।’
उनीहरुको बास नजिकै खुद्रा व्यापार गर्दै आएकी माया मगर उनीहरुको अवस्था एकदमै दयनीय भएको बताउँछिन्। ‘स्थानीय सरकारले बाड्ने भनेको राहत यस्ता गरिब, दुःखी र असहायहरुले अझै पाउन सकेका छैनन्। यिनीहरुको अवस्थाको विषयमा धेरै पटक आफूले वडाका जनप्रतिनिधिहरुलाई भनेको भए पनि कसैले उनीहरुको पुकार सुनेनन्,’ उनले भनिन्।
यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोरोना कहरको उच्च जोखिमका बिच नगरपालिका नियन्त्रण र रोकथाममा लागेको जानकारी दिए। उनले नगरपालिकाले पहिलो र दोस्रो चरणमा राहत वितरण गरिसकेको बताए। उनले भने, ‘नगरपालिकामा बेवारिसे जीवन बिताइरहेकालाई हामीले राहत उपलब्ध गराउन सकेको छैनौं।’
यहाँका खुल्ला चौरमा बेवारिसेहरु धेरै बसिरहेका छन्। यहाँको सरकारले उनीहरुको विषयमा चासो दिन सकेको छैन। कोहलपुर नगरपालिकाले हालसम्म नगर क्षेत्रका विपन्नहरुका लागि भनेर साढे एक करोड राहत वितरण गरेको जनाएको छ।