कोरोना भाइरस छोए नि मर्नी
लकडउन भयो खै अब के गर्नी ?
सारा संसार लगाइए ताला
काम छैन गरीबले के खाला ?
लौन हजुर हो कता जानी ?
काम छैन अब गरीबले के खानी ?
लौ न हजुर के कसो गर्नी हो ?
खर्च छैन अब पेट केले भर्नी हो ?
–डम्बर गन्धर्व
यो कोरोना विषाणुबाट उत्पन्न हाहाकारमा जन्मेको गीत हो । सरल र भावमय, जीवन्त र सशक्त गीत । जनजीवनमा लकडाउनद्वारा सिर्जित निर्मम यथार्थको जैविक अभिव्यक्ति हो यो । भुइँमान्छेहरुका दुःख टिपेर भुइँमान्छेले वेदनाको भाकामा रचेको भुइँमान्छेहरुको गीत । मेरो विचारमा लोकलाई आपत–विपतको करूण क्रन्दन सुनाउन बाटाबाटै र घरघरै धाउने समकालको सर्वोत्कृष्ट गीत हो यो ।
यी गीतकार र गायक टु–इन–वानको घर छ गोरखा, पालुङटार । बसाइ छ काठमाडौँको डेरामा । आफ्नो समेत गन्दा डेरामा खाने मुख पाँचवटा छन्, कमाउने मनुवा छन् डम्बर गन्धर्व एक्लै । अत्याउँदै आएको लकडाउनले बन्दुक ताकेर गाउँ जाने बाटो छेकिदियो । फुक्काफाल घुम्न पाउँदा गाइने गन्धर्वलाई राजधानीमा चारो खोज्न उति गाह्रो थिएन । जब लकडाउन लाग्यो, उनको घुमफिरको हक हरण भइहाल्यो । उनका गीत सुन्ने मनकारी जनहरु घरभित्र लुके । र, उनी खाली सडकको पेटीमा बसेर आकाश–बतासलाई गीत सुनाउन विवश भए । गीत सुन्ने निराकार श्रोता न बोल्छ न आनासुकी कृपा गर्न थैलीको मुख खोल्छ । दिनदिनै चारो खोजिखाने रसिक र अथक गन्धर्वलाई पर्यो अब फसाद ! फसाद पर्दा जोसँग जे हतियार छ, प्राण धान्न उसले त्यही प्रयोग गर्छ । गोरखाली डम्बर गन्धर्वसँग गलाको कला छ, सारङ्गीको धून छ । लकडाउनका आखेटरकारी आँखा छलेर सारङ्गी रेट्दै उनी शहरी बस्तीका कुनाकानी घुम्छन् । सुरक्षाकर्मीले उनलाई अनेक पटक भेट्यो । तर आजसम्म कुटिहालेको भने छैन । यी गन्धर्वका गीतको मर्म, स्वरको सम्मोहन र बाजाको माधुर्यको जादुगरी प्रभावले होला शायद । छनलाई प्राण धान्न दुःखदुःखै छ, तैपनि यी गन्धर्वको परिवारमा आजसम्म भोकले कोही मरेको छैन । तर सप्तरीको पथरीका मुसहर मलर सदा मरे । उनका जिउने हतियार केवल पाखुरो र कोदालो थिए । साहु सरकारको लकडाउन गरीबलाई कालको उपहार लिएर आयो । र, निस्तेज, निरुपाय र असहाय भई अकालमै मलर सादा मरे ।